शेखर–गगन समूहद्वारा आफू पक्षीय सांसदको बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला, गगन थापा समूहले आफू पक्षीय सांसदको बैठक आह्वान गरेको छ । पार्टीभित्र मन्त्रालय भागबण्डामा विमति जनाएर मन्त्रीको नाम नपठाएको उक्त समूहले आज सांसदहरुसँग छलफल गर्न लागेको बैठक आह्वान गरेको हो ।
दिउँसो सांसदहरुसँग छलफलको लागि बैठक आह्वान गरिएको भएपनि समय र स्थान तय भइनसकेको शेखर गगन समूहका एक पदाधिकारीले बताए ।
कांग्रेसभित्र गुटगत विवादका कारण प्रधानमन्त्री प्रचण्डले शुक्रबार सातौं पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि पूर्णता दिन सकेका थिएनन् । शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दा कांग्रेसबाट उपप्रधानसहित रक्षामन्त्री सम्हाल्ने गरी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गरेका छन् ।
अर्थमन्त्रीमा प्रकाशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र सहरी विकासमा सीता गुरुङ नियुक्त भएका छन् । देउवाले सोही दिन शेखर कोइराला समूहका उपसभापति धनराज गुरुङ र सांसद डिगबहादुर लिम्बूलाई पनि मन्त्री बनाउन खोजेका थिए ।
गुरुङ र लिम्बुलाई मन्त्री बनाउने देउवाको सङ्केत पाएपछि महामन्त्री गगन थापासहितका नेताले ३ मन्त्रालय नलिई सरकारमा जानै नहुने अडान राखे । शेखर–गगन समूहले तीन मन्त्री पाउनुपर्ने अडान राखेर नाम नदिएपछि देउवाले आफू पक्षीय २ जनाको नामको शपथ पनि रोकिदिए ।
