हेटौंडा आएर गुरुङले भने, ‘अब नैतिक शिक्षामा जोड दिनुपर्छ’

तु खबर संवाददाता
२०७९ चैत्र ११, शनिबार १६:०६

मकवानपुर । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देश र जनताको हितका लागि अब नैतिक शिक्षा सुधारमा जोड दिनुपर्ने बताएका छन् । नेता गुरुङले शनिबार नेपाल शिक्षक संघ बागमती प्रदेश समितिको हेटौंडामा भएको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै यस्तो कुरामा जोड दिएका हुन् ।

उपसभापति गुरुङले राजनीतिक दलका नेताहरुले नैतिकता गुमाउँदा मुलुकमा भ्रष्टाचार मौलाएको आरोप  लगाए । उनले सामुदायिक विद्यालयलाई नमूना विद्यालय बनाएर त्यसलाई अन्य विद्यालयहरुले पछ्याउँदै जादा शैक्षिक क्षेत्रको परिवर्तन सम्भव हुने बताए । उनले स्थानीय पाठ्यक्रमबाट शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै नैतिक शिक्षा प्रर्वद्धन गर्न सके अहिलेको जस्तो विकराल अवस्थाको विस्तारै अन्त्य हुने उल्लेख गरे ।

धनी र गरिबबीच शैक्षिक गुणस्तरको खाडल पूर्न अब प्रत्येक स्थानीय तहमा कम्तिमा १२ वटा नमूना विद्यालय निर्माण गरी त्यसतर्फ शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न निकाय र स्थानीय तह एक हुनुपर्ने उनको भनाई छ ।

संघका अध्यक्ष नारायणप्रसाद तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद श्यामकुमार घिमिरे, शिक्षक संघका केन्द्रीय अध्यक्ष राजेन्द्रराज पौडेल, कांग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफ्ले, बागमती प्रदेश सभापति इन्द्र बानियाँ प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव रामशरण सापकोटा, शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश प्रसाद हुमागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।