विश्वासको मतबारे निर्णय लिन एमाले बागमती संसदीय दलको बैठक बस्दै
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने कि नदिने भन्ने बारेमा निर्णय लिन नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठक आज बस्दैछ ।
बैठक दिउँसो साढे १२ बजे बस्ने गरी बोलाइएको नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिए । बैठकमा मुख्यमन्त्रीको विश्वासको मत, सरकारका सहभागी हुने लगायतको विषयमा छलफल हुने उनले बताए ।
प्रदेश सभाको आज अपराह्न ३ बजे बस्ने बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने कार्यक्रम रहेको छ । प्रदेश सभामा मुख्यमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा सहभागी भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछी मुख्यमन्त्री जम्मकट्टेलले प्रदेश सभामार्फत पुनः विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री जम्मकट्टेलले यसअघि पहिलो पटक गत माघ ३ गते विश्वासको मत लिएका थिए । त्यतिखेर उनलाई नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद बाहेक नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टी गरी ६ वटा दलका सांसदहरुले समर्थन गरेका थिए ।
राप्रपाले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको एक महिना भित्रमा विस्वासको मत लिनुपर्ने कानूनी व्यवस्था रहेको छ । सोही व्यवस्था अनुरुप उनले विश्वासको मत लिन लागेका हुन् ।
