भौतिक पूर्वाधार विकासको अभियानलाई जोड दिन्छौं: मुख्यमन्त्री

तु खबर संवाददाता
२०८१ बैशाख २१,शुक्रबार १७:२०

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अब प्रदेश सरकारले क्रमशः भौतिक पूर्वाधार विकासको अभियानमा जोड दिने बताएका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ कमानेस्थित प्रदेश, शिक्षा विकास निर्देशनालय भवनको शिलान्यास कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले प्रदेशमा विज्ञहरु तथा दक्ष जनशक्ति उत्पादन गर्ने कार्यको लागि प्रदेश सरकारले विश्वविद्यालयको स्थापना गर्न लागेको उनले बताए ।

प्रदेशका विभिन्न जिल्लाहरुमा आवश्यकता अनुरुप राष्ट्रिय गौरबको आयोजना, भौतिक पूर्वाधार विकास र शिक्षा गुणस्तरलाई बाह्य देशमा पनि प्रतिस्पर्धा गर्न सक्ने क्षमता बनाउने प्रदेश सरकारको लक्ष्य रहेको उनको भनाई छ ।

मुख्यमन्त्री जम्कट्टेलले करिब दुर्इ अर्ब सम्मको लगानीमा गरिने काममा स्थानीय सरकारको सहकार्यमा गर्नका लागि आफु तयार रहेको दृढता व्यक्त गरे ।

मुख्यमन्त्री जम्कट्टेलले शिलान्यास गरेको उक्त भवनको निर्माण कार्य ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको प्रदेश शिक्षा विकास निर्देशनालयका प्रमुख दिपेन्द्र सुबेदीले बताए ।

बागमती प्रदेश सरकारको करिब २१ करोड २५ लाखको लागतमा भवनको निर्माणकार्य थालनी गर्न लागेको निर्देशनालयका प्रमुख सुबेदीले उल्लेख गरे ।

भवन शिलान्यस कार्यक्रममा बागमती प्रदेश, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, हेटौंडा उपमहानगरपालिकाको प्रमुख मीनाकुमारी लामालगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।