उप–निर्वाचनका लागि आजबाट दल दर्ताको सुरु

तु खबर संवाददाता
२०७९ चैत्र ८, बुधबार ०७:५७

काठमाडौं । निर्वाचन आयोगले उप–निर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको आजबाट दल दर्ता गर्ने भएको छ । आयोगले बैशाख १० गते हुन गइरहेको उप–निर्वाचनको प्रयोजनका लागि आजदेखि चैत्र १२ गतेसम्म दल दर्ताको समय सीमा तोकेको छ ।

आगामी बैशाख १० गते चितवन–२, बारा–२ र तनहुँ–१ मा उप–निर्वाचन हुदैँछ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भए पनि नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरेपछि चितवन–२ रिक्त हुन पुगेको थियो भने तत्कालीन जसपाका केन्द्रीय महासचिव रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि बारा–२ मा संसद् पद रिक्त छ ।

यसैगरी, तनहुँ–२ बाट निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि सो स्थान रिक्त हुन पुगेको छ ।