तनहुँ-१ र बारा-२ मा पनि बैैशाख १० गते नै उपनिर्वाचन हुने

तु खबर संवाददाता
२०७९ चैत्र ६,सोमबार १६:३८

काठमाडौं । तनहुँ–१ र बारा–२ मा पनि बैशाख १० गते नै उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको सोमबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

उक्त दिन बिहान ७ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म मतदान हुने गरी मतदानको समयसमेत निर्धारण गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

फागुन २५ गते सम्पन्न निर्वाचनबाट रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१ मा उपनिर्वाचन हुन लागेको हो । यस्तै चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनमा रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएसँगै बारा २ मा पनि उपनिर्वाचन हुन लागेको हो ।

संविधान अनुसार प्रतिनिधि सभा सदस्य राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएमा पद रिक्त हुने र उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ । संविधानको धारा ८४ को उपधारा (७) बमोजिम प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

निर्वाचन आयोगले यसअघि नै चितवन-२ मा पनि सोही मितिमा उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ । नागरिकता प्रकरणमा रवि लामिछानेले सांसद पद गुमाएपछि चितवन २ मा पनि उपनिर्वाचन हुन लागेको हो ।