उपराष्ट्रपति पदका लागि मतदान जारी

तु खबर संवाददाता
२०७९ चैत्र ३,शुक्रबार १०:५८

काठमाडौं । उपराष्ट्रपति पदका लागि मतदान जारी छ । नयाँ बानेश्वरको संसद भवनस्थित ल्होत्से हलमा केहीबेर अघिबाट मतदान सुरु भएको हो ।

मतदान कार्य दिउँसो ३ बजेसम्म संचालन हुनेछ । उपराष्ट्रपतिमा उम्मेदवार रामसहायप्रसाद यादवले मतदान गरिसकेका छन् । अन्य उम्मेदवारहरु अष्टलक्ष्मी शाक्य र ममता झाले सांसद नभएका कारण मतदान गर्न पाउने छैनन् । यद्यपि उनीहरु पनि मतदान स्थलमा पुगेका छन् ।

अन्य सांसदहरुले पनि अहिले उपराष्ट्रपति पदका लागि मतदान गर्ने क्रम जारी रहेको छ । आजै साँझ ६ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार उम्मेदवार छन् । जसपाकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्कृय भएको बताएकी छन् । तर, उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि मात्रै उम्मेदवारी निष्कृय भएको भनेकाले मतपत्रमा उनकोसमेत नाम छ ।

जनता समाजवादी पार्टीका उम्मेदवार रामसहायप्रसाद यादव नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदको समर्थन रहेको छ । जनमत पार्टीकी झालाई भने लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदले समर्थन रहेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उपराष्ट्रपतिको निर्वाचनका लागि ९८० थान मतपत्र छापिएको जानकारी दिए ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का दुवै सदनका सदस्य र प्रदेश सभाका सदस्य रहने निर्वाचक मण्डलले मतदान गर्ने कानुनी व्यवस्था छ । सो व्यवस्थाबमोजिम ८८२ सदस्य मतदान गर्न पाउनेछन् ।