उपराष्ट्रपति निर्वाचनको परिणाम आजै आउने

तु खबर संवाददाता
२०७९ चैत्र ३,शुक्रबार ०९:४२
file-photo

काठमाडौं । आज उपराष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार संसद भवनमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तय गरिएको छ ।

मतदान नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतदान हुने जनाएको छ । निर्वाचन सकिएलगत्तै मतगणना सुरु गर्ने र आजै बेलुका ६ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।

उपराष्ट्रपति पदका लागि चार जना उम्मेदवार रहेका छन् । नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादी पार्टीबाट प्रमीला कुमारी यादव र रामसहायप्रसाद यादव उम्मेदवार रहेका छन् । प्रमिलाकुमारी उम्मेदवार नरहेको उक्त दलले जनाए पनि निर्वाचन अधिकृतको कार्यालयको समयसीमाभित्र उम्मेदवारी फिर्ता नलिएकोले मतपत्रमा उनको नामसमेत राखिएको छ ।

जनता समाजवादी पार्टीका उम्मेदवार रामसहायप्रसाद यादव नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदको समर्थन रहेको छ ।

जनमत पार्टीकी झालाई भने लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदले समर्थन रहेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उपराष्ट्रपतिको निर्वाचनका लागि ९८० थान मतपत्र छापिएको जानकारी दिए ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का दुवै सदनका सदस्य र प्रदेश सभाका सदस्य रहने निर्वाचक मण्डलले मतदान गर्ने कानुनी व्यवस्था छ । सो व्यवस्थाबमोजिम ८८२ सदस्य मतदान गर्न पाउनेछन् ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ बमोजिम कुनै उम्मेदवारले प्राप्त गरेको कुल मत निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत भएमा निर्वाचन अधिकृतले त्यस्तो उम्मेदवार निर्वाचित भएको घोषणा गर्नुपर्नेछ । उक्त व्यवस्थाअनुसार निर्वाचक मण्डलको कुल मतभार ५२ हजार ६२८ रहेकोमा निर्वाचित हुन २६ हजार ३१४ मत आवश्यक पर्नेछ ।