निर्वाचन आयोग : उपराष्ट्रपति चुनावअघि दलहरुको बैठक बोलाउन रोक
काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको भन्दै दलहरुलाई कुनै प्रकारको बैठक, छलफल, अन्तरक्रिया र सभा समारोह गर्न रोक लगाएको छ ।
निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै बैठक, छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न रोक लगाएको हो ।
यस्ता गतिविधि गर्नु निर्वाचन आचारसंहिता विपरीत हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । बिहीबार जारी विज्ञप्तिमा मतदान हुने दिन भन्दा ४८ घण्टा अघिदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार गर्न प्रतिबन्ध रहेको उल्लेख गरिएको छ ।
उपराष्ट्रपतिको निर्वाचन शुक्रबार हुँदैछ । उपराष्ट्रपति चुनावमा एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम, सामाजिक सञ्जालबाट समेत मत माग्न रोक लगाइएको छ ।
