राष्ट्रपति पौडेलले दिए कांग्रेसको जिम्मेवारीबाट राजीनामा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको जिम्मेवारीबाट राजीनामा दिएका छन् । राष्ट्रपति पौडेलले आइतबार कांग्रेसको सबै पदबाट राजीनामा दिएका हुन् ।
पौडेलको राजीनामापत्र कांग्रेस नेता राजुराज जोशीले पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाएका छन् । कांग्रेसको वरिष्ठ नेताको जिम्मेवारीबाट पौडेलले राजीनामा बुझाएको कांग्रेस कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिएका छन् ।
उनी बिहीबार मात्रै राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।राष्ट्रपति निर्वाचनमा कुल ८३१ मत खसेको थियो । जसमध्ये पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ गरी कूल ५६६ मत प्राप्त गरे । यस्तै, उनका प्रतिस्पर्धी नेवाङले प्रदेशतर्फ १६२ र संघतर्फ ९८ गरी २६० मत प्राप्त गरेका थिए भने पाँच मत बदर भएको थियो ।
