मेरो नेतृत्व नै आधिकारिक हो, भ्रममा नपरौँः सापकोटा
चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचनको मुखमा नेवि संघ मकवानपुरमा भने विवाद देखा परेको छ ।
विद्यार्थीको भेलाबाट पार्टी मकवानपुरको रोहबरमा चुनिएको सुवास सापकोटा नेतृत्वको कार्यसमितिको अस्तित्व नरहेको भन्दै केन्द्रीय सभापति दुजाङ शेर्पाले भीषण ठकुरीलाई मकवानपुर सभापति नियुक्त गरेपछि सुरु भएको विवाद अहिले चुलिएको हो ।
केन्द्रीय समितिले भिषण ठकुरी नेतृत्वको जिल्ला कार्यसमितिबाहेक अरू कुनै पनि कार्यसमिति अस्तित्वमा नरहेको उल्लेख गरेको छ । यता, सोही विषयलाई लिएर नेपाली कांग्रेस मकवानपुरले नेविसंघका केन्द्रीय अध्यक्ष शेर्पालाई बर्खास्त गर्न माग गर्दै पार्टी अध्यक्ष शेरबहादुर देउवालाई पत्राचार समेत गरेको छ ।
कांग्रेस मकवानपुरले सर्वसम्मत सिफारिसबाट चुनिएका मकवानपुरका सभापति सापकोटालाई बर्खिलाप गरी स्ववियू चुनावमा नेवि संघलाई असफल बनाउने भूमिकाका साथ मकवानपुरमा नेवि संघ साधारण सदस्यसमेत नरहेका व्यक्तिलाई सभापति बनाइएको भन्दै आपत्तीसमेत जनाएको छ ।
उनै सापकोटाको नेतृत्वमा स्ववियू निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन भइरहेको र पार्टीका तर्फबाट सहसचिव इन्दिरा न्यौपानेको संयोजकत्वमा ५ सदस्यीय स्ववियु परिचालन समितिसमेत गठन गरिएको कांग्रेस मकवानपुरले उल्लेख गरेको छ ।
निर्वाचनको मुखमा कांग्रेसभित्रको अन्तरविरोधका कारण सिर्जित समस्यालाई कसरी सहजिकरण गर्ने, निर्वाचनमा नेविसंघलाई कसरी अगाडि बढाउनेलगायत नेविसंघको आन्तरिक विवाद र स्ववियू निर्वाचनलाई लक्षित गरी हामीले नेवि सँघ सभापति सापकोटासँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश ।
सवालः नेवि संघ भित्रै तपाईको नेतृत्वको कार्यसमितिलाई स्वीकार गर्न सबै जना तयार नभएको र विवाद सिर्जना भइरहेको अवस्था छ । स्ववियूको निर्वाचन नजिकै आइसकेको अवस्थामा नेवि संघ आफैं विवादमा किन रुमलिएको ?
जवाफः धन्यवाद । हामी रुमलिएका होइनौँ । नेपाल विद्यार्थी संघ मकवानपुरका निवर्तमान अध्यक्ष राजु खतिवडाज्यू पार्टीको जिल्ला सदस्य मनोनित हुनुभएको र उमेरको हकमा पनि उहाँले ३२ वर्ष पार गरिसक्नुभएको कारण पार्टी र समग्र नेवि संघका विद्यार्थीहरुको भेलाले मलाई संघको नेतृत्व प्रदान गरेको हो ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन नजिकिँदै गर्दा नेपाल विद्यार्थी संघका साथीहरु र नेपाली कांग्रेस मकवानपुरले अब स्ववियूको निर्वाचनमा नेवि संघलाई कसरी विजयी गराउने भन्ने चासो चिन्ता राखी छलफल गर्ने क्रममा पहिला संगठनलाई नेतृत्व प्रदान गर्ने भन्ने निक्र्यौल गरी विद्यार्थीहरुको भेलाबाट गत माघ २८ गते पार्टी मकवानपुरका प्रवक्ता अर्जुनप्रसाद चौलागाईँ र नविसंघका निवर्तमान महामन्त्री प्रभातकुमार दाहालसहितको रोहबरमा मेरो नेतृत्वमा संघलाई पूर्णता दिइएको हो ।
त्यसपश्चात हामी निरन्तर रुपमा संगठन विस्तार सँगै अन्य सांगठनिक गतिविधिमा क्रियाशील भई स्ववियुको निर्वाचन लक्षित गतिविधिमा खटिइरहेका छौँ । भिभुवन विश्वविद्यालयले स्ववियू निर्वाचनको कार्यविधि पनि सार्वजनिक गरेको छ । निर्वाचन कार्यविधि अनुसार, मकवानपुर बुहुमुखी क्याम्पससहित जिल्लाका ८ वटा क्याम्पसमा गत फागुन १९ गते मेरो हस्ताक्षरमार्फत् स्ववियुमा संगठन दर्ता भइसकेको अवस्था छ ।
त्यसको भोलिपल्ट अर्थात् फागुन १९ गते हामीले नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमितिले मकवानपुर नेतृत्वको लागि अर्को व्यक्ति भिषण ठकुरीलाई जिम्मेवारी दिएको भन्ने कुरा सामाजिक सञ्जालमार्फत् थाहा पायौँ । हामी आपसमा फुटेर जाने भन्दा पनि सबैलाई समेटेर अघि बढ्ने पक्षमा छौँ । रुमलिने भन्दा पनि स्ववियु निर्वाचनमा कसरी नेवि संघलाई जिताउने भन्नेमा हामी चिन्तित छौँ । त्यसका लागि क्रियाशील छौँ ।
सवालः संघको केन्द्रीय कार्यसमितिले अर्कै व्यक्तिलाई जिम्मेवारी दिएको छ । पार्टी मकवानपुर र विद्यार्थीहरुको भेलाबाट तपाईले जिम्मेवारी पाउनुभएको छ । यस्तो अवस्थामा आधिकारिक सभापति कसलाई मान्ने ?
जवाफः सबैले सहजै बुझ्ने विषय हो जस्तो लाग्छ । जिल्लामा संगठनलाई पहिला नेतृत्व प्रदान गर्नुपर्ने अवस्था आएपछि पार्टीकै रोहबरमा आम नेविसंघमा आवद्ध विद्यार्थीहरुको भावना अनुरुप भेलामार्फत् मलाई जिम्मेवारी दिइएको हो ।
मेरो नेतृत्वमा संघको हितका सन्दर्भमा गतिविधि अघि बढिसकेको र सबै क्याम्पसहरुको स्ववियूमा समेत मेरो हस्ताक्षरमा नेविसंघ दर्ता भएको अवस्थामा मलाई नै आधिकारिक मान्ने कुरामा अब कोही पनि भ्रममा पर्नु हुँदैन भन्ने लाग्छ ।
केन्द्रबाट पत्र पठाएर यो सभापति भन्नु भन्दा पनि यहाँको नेतृत्व यहाँकै विद्यार्थीहरुको भावना अनुसार चुनिनुपर्ने हो भन्ने लाग्छ । त्यसकारण यो भ्रममा पर्नुपर्ने विषय नै होइन । म सबैलाई आह्वान गर्न चाहान्छु, सबै मिलेर स्ववियू निर्वाचनमा नेवि संघलाई जिताऔँ । केन्द्रले मनोनित गरेको साथीहरुसँग पनि हामी छलफल गरिरहेका छौँ । उहाँहरुलाई हामी समेटेरै लैजान्छौँ ।
सवालः तपाईहरु छुट्टा छुट्टै समूह बनाएर अघि बढिरहँदा निर्वाचनमा नेवि संघले चाहे अनुसारको परिणाम प्राप्त गर्न सक्छ ?
जवाफः निर्वाचन नजिकै गर्दा यस्ता खालका विवादले संगठनलाई पक्कै पनि ठूलो क्षति पुग्छ । हाम्रो उद्देश्य भनेको नेपाल विद्यार्थी संघलाई स्थापित गराउने हो । जिल्लामा नेविसंघमा आस्था राख्ने भाइबहिनीहरु यसमा लागि परिरहनुभएको छ । मकवानपुरमा नेवि संघलाई कमजोर बनाउने खालका गतिविधि सुरु भएको छ । त्यसमा पार्टी भित्रैबाट पनि चलखेल भएको छ । त्यसकारण यस्ता गतिविधिले हामीलाई कमजोर बनाउँछ । यसमा साथीहरु र पार्टीका नेताहरु पनि सचेत हुनु जरुरी छ ।
नेवि संघ भनेको पार्टीको भातृ संगठन हो । यसलाईं संरक्षण गर्ने, कसरी अगाडि बढाउने भन्ने विषयमा पार्टी पनि जम्मेवार हुन्छ । हामीले नेविसँघलाई हामी पार्टी नर्सरी पनि भन्ने गरेका छौं । त्यसैले कांग्रेस मकवानपुरले नै अभिभावकत्व गर्ने हिसावले नेपाल विद्यार्थी संघका सार्थीहरुको भेलाबाट नै भएको निर्णय र पार्टीबाट भएको निर्णय नै आधिकारिक हुने हो । पार्टीलाई कमजोर बनाउने उद्देश्यले अन्य कुनै व्यक्तिलाई जिम्मेवारी दिइन्छ भने त्यसले संगठनलाई क्षति पुर्याउँछ । त्यो उहाँहरुले पनि बुझ्नुपर्ने कुरा हो । त्यसैले यो गुटगत र फुटगत रुपमा भन्दा पनि मिलेर जाऔँ भन्न चाहान्छु ।
सवालः मिलेर जाने, मिलाएर लैजाने त भन्नुभयो त्यसका लागि छलफल वा समन्वयात्मक पहल गर्नुभएको छ त ? स्ववियू निर्वाचनको लागि उहाँहरुले पनि मनोनयन दर्ता गराउनुभयो भने नी ?
जवाफः हामीले उहाँहरुसँग मिलेर निर्वाचनमा जाने एक किसिमको प्रयास गरेकै हौँ । हामीले निर्वाचनलाई प्रभावित पार्ने खालका गतिविधि नगरौँ भनेर विभिन्न किसिमका प्रयासहरु गरेको भएता पनि उहाँहरु सकारात्मक हुनुभएको छैन । तर, हाम्रो प्रयास जारी छ ।
अब कुरा आयो, छुट्टै मनोनयनको । नेपाली कांग्रेस मकवानपुरले पार्टीको सहसचिव इन्दिरा न्यौपानेको नेतृत्वमा पाँच सदस्यीय स्ववियू निर्वाचन परिचालन समिति पनि गठन गरेको छ ।
त्यस अन्तरगत रहेर हिजो मात्रै बसेको गठबन्धन दलहरुको बैठकबाट मकवानपुर जिल्लाबाट ८ वटै दल मिलेर जाने भन्ने निर्णय भएको छ । हिजोको दिनमा मेरो नेतृत्व र मेरो हस्ताक्षरमा संगठन दर्ता भएको कारणले गर्दा मेरै नेतृत्वलाई आधिकारिक मानिन्छ । अन्य कसैले उम्मेदवारी दर्ता गरेमा त्यो स्वतन्त्र उम्मेदवारी हुन्छ । त्यसलाई आधिकारिक मानिँदैन ।
सवालः गठबन्धनमा कसरी भागबण्डा कसरी मिलाउनुहुन्छ ?
जवाफः गठबन्धनको हिसाबमा भन्नु पर्दा ठ्याक्कै टुंगिएको अवस्था छैन । तर, यसमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतको दलहरु मिलेर जाने भन्ने अनौपचारिक निर्णय चाँही भएको छ ।
अहिले जिल्लामा रहेको ८ वटा क्याम्पसमध्ये ४ वटामा नेवि संघको नेतृत्व रहने गरी अघि बढ्नेमा सबै सहमत भएको अवस्था छ ।
जिल्लामा रहेको ८ वटा क्याम्पसमा गरी कूल ४ हजार ४ सयको हारहारीमा मतदाता रहेका छन् । त्यसमध्ये सबैभन्दा बढी मतदाता नेवि संघका छन् । भागबण्डा मिलाएर हामी चाँडै नै सार्वजनिक गर्छौँ ।
आज चाँही हामीले पहिलो प्राथमिकता मनोनयन दर्तालाई दिनेछौं । मलाई लाग्छ विद्यार्थी सार्थीहरु जो नेविसंघमा आस्था राख्नुहुन्छ । उहाँहरु पक्कै पनि नेवि संघ कमजोर बनाउनेतर्फ कोही पनि लाग्नुहुन्न । म नेविसँघ मकवानपुरको आधिकारिक सभापति भएको नाताले मैले यो पहलको सुरुवात गर्छु ।
र त्यसपछिको गतिविधिहरुको अवस्थामा भन्नुपर्दा जुन अहिले केन्द्रीय कार्यसमितिले, केन्द्रीय सभापतिले चिठ्ठि दिनुभयो भन्ने छ । उहाँ आफै पनि तदर्थ समितिको सदस्य भएको कारण उहाँले दिएको चिठ्ठी कति आधिकारिक हुने भन्ने कुरा पनि छ । र अहिले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले पनि स्ववियूको निर्वाचनमा नेवि संघले जिल्ला सभापतिको समन्वयमा गतिविधिहरु अगाडि बढाउनु भनेर कांग्रेस मकवानपुरलाई परिपत्र गरिसकेको अवस्था छ । कांग्रेस मकवानपुरले पनि सुवाव सापकोटा नै आधारिक हो भनेर प्रेस विज्ञप्ति नै निकालिसक्नु भएको छ । त्यो प्रेस विज्ञप्तिले पनि जनाउँछ कि आधिकारिक को हो भनेर । त्यसकारण भ्रममा कोही पर्न जरुरी छैन जस्तो लाग्छ ।
सवालः तपाईको काँधमा जिम्मेवारीसँगै संगठनलाई मिलाएर लैजाने, निर्वाचनमा नेविसंघलाई जिताउने, अर्को पक्षलाई समेट्नेलगायत अनेक चुनौती पनि छन् । यसलाई कसरी अगाडि बढाउनुहुन्छ ?
जवाफः नेपाल विद्यार्थी संघको जिम्मेवारी मैले लिँदै गर्दा जिल्लाको सबै गाउँपालिका र कलेज स्कुलहरुमा संगठन विस्तार हाम्रो पहिलो प्राथमिकतामा रहन्छ ।
सुरुमा त स्ववियू निर्वाचन सम्पन्न गर्ने कुरा नै हो । त्यसमा हाम्रा साथीहरुलाई विजयी गराउने तर्फ हामी क्रियाशील हुनेछौँ । र, विद्यार्थीका समस्या धेरै देखिरहेका छौं । पहिलो कुरो हरेक विद्यार्थीहरुले पढ्न पाउनुपर्ने अधिकार छ । त्यसको रक्षा र शिक्षालाई प्राथमिकतामा अगाडि बढाउनुपर्नेछ । जुन शिक्षा र स्कुल, कलेजभन्दा बाहिर रहेका विद्यार्थीहरु छन् उनीहरुलाई त्यो अवस्थासम्म ल्याउने हाम्रो प्रमुख जिम्मेवारी रहेको छ । अन्य कुरा विद्यार्थीको सुझाव र भावना अनुसार अघि बढ्छौँ ।
सवालः स्ववियू निर्वाचनमा तपाईको उम्मेदवारी रहन्छ ?
हामी विद्यार्थीहरुकै भेला र छलफलबाट उम्मेदवारी चयन गरी मनोनयन दर्ता गर्छौँ । त्यसमा मेरो चाँही उम्मेदवारी हुँदैन । कलेजमा रेगुलर पढ्ने र आम विद्यार्थीलाई २८ वर्षको उमेर हद तोकिएको छ । अहिले विद्यार्थीहरु निर्वाचन उठ्न कै लागि कलेजमा भर्ना भएको पनि देखिएको छ । तर, रेगुलर कजेरमा बढ्ने विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर उम्मेदवार बनाउँछौँ ।
सवालः अन्तमा के भन्न चाहानुहुन्छ ?
जवाफः अन्तमा मैले भन्नुपर्ने भनेको मकवानपुर जिल्लामा नेवि संघ भित्र अहिले जुन किसिमको विवादको सुरुवात गरियो । त्यो एकदमै निन्दनीय छ । यो संगठनलाई कमजोर बनाउने खेल हो । नेवि संघमा आस्था राख्ने साथीहरु, पार्टीका नेताहरुलाई म यो नेवि संघलाई कमजोर बनाउने खेलमा हामी कोही पनि नलागौँ भन्न चाहान्छु । हाम्रो अहिलेको उद्देश्य भनेको स्ववियू निर्वाचनमा नेवि संघलाई विजयी गराउने हो । नेवि संघलाई मकवानपुरमा स्थापित गराउने र बलियो बनाउनेतर्फ लागि पर्न अनुरोध गर्दछु । आम विद्यार्थीको चासोको विषय उजागर गर्ने मौका दिनुभएकोमा तु खबरप्रति पनि आभारी छु ।