सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहले प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने बैठकमा विश्वासको मत लिने भएका हुन् ।
त्यसअघि मुख्यमन्त्री शाहले दलीय सहमति जुटाउने प्रयास जारी राखेका छन् । आवश्यक परेमा आजै सर्वदलीय बैठकसमेत बस्न सक्ने मुख्यमन्त्रीका स्वकीय सचिव धिरेन्द्र शाहीले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रले यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेपछि मुख्यमन्त्री शाह अप्ठ्यारोमा परेका छन् । शनिबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा छलफल नएभको भन्दै यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको थियो ।
यसअघि नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्र सिंह रावलले विश्वासको मत जुटाउन नसकेपछि पदमुक्त भएका थिए । त्यसपछि सुदूरपश्चिम प्रदेश सभाको ठूलो दलको हैसियतमा कांग्रेसका शाह माघ २६ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।
