राष्ट्रपति चुनाव : मतदान गर्न मतदाताले परिचयपत्र बोक्नुपर्ने
काठमाडौं । निर्वाचन आयोगले यही फागुन २५ गते हुने राष्ट्रपतिको चुनाव र आगामी चैत्र ३ गते हुने उपराष्ट्रपतिको चुनावमा मतदाताहरूले मतदान गर्न जाँदा साथमा लिएर जानुपर्ने कागजातका सम्बन्धमा स्पष्ट पारेको छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा संघीय संसद्का सदस्य र प्रदेश सभाका सदस्य रहेको निर्वाचन मण्डलद्वारा मतदान हुने कानुनी व्यवस्था रहेको छ । निर्वाचन आयेगले एक सूचना जारी गरी दुबै निर्वाचनमा मतदान गर्न जाँदा साथमा लिएर जानुपर्ने कागजातका सम्बन्धमा स्पष्ट पारेको हो ।
मतदान गर्न जाँदा निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचय पत्र वा, नेपाली नागरिकताको प्रमाण पत्र वा, सम्बन्धित संसद सभा सचिवालयबाट जारी भएको परिचय पत्र वा निर्वाचन अधिकृतबाट सम्बन्धित सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाण पत्र वा राष्ट्रिय परिचय पत्र लिएर जानुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
