उपसभामुखमा कांग्रेसबाट यादवको मनोनयन दर्ता

तु खबर संवाददाता
२०७९ माघ ६,शुक्रबार १६:२१

काठमाडौं । नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गरेकी छन् । शुक्रबार संघीय संसद भवन परिसरमा पुगेर यादवले उपसभामुखमा उम्मेदवारी दर्ता गरेकी हुन् ।

यादवको प्रस्तावकमा कांग्रेसका सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।

धनुषाकी यादव समानुपातिकतर्फबाट कांग्रेसको सांसद बनेकी थिइन् । कांग्रेसको १४ औं महाधिवेशनमा यादवले सबैभन्दा धेरै मत ल्याएर केन्द्रीय सदस्य जितेकी थिइन् ।

उपसभामुख पदमा यसअघि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा सिफारिस भएकी इन्दिरा रानामगरले मनोनयन दर्ता गरेकी छन् ।

राना मगरको प्रस्तावकमा रास्वपाकी सांसद सोविता गौतम र समर्थनमा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ, माओवादीकी नारायणी शर्मा र राप्रपाका सांसद राजेन्द्र प्रसाद लिङ्देन रहेका छन् ।