बुढ्यौली साहित्य : विषय प्रवेश

सञ्जय साह मित्र
२०७९ पुष ३०,शनिबार १४:५१

न हि कश्चित्क्षणमपि जातु तिष्ठत्यकर्मकृत् ।
कार्यत ह्यवशः कर्म सर्वः प्रकृतिजैर्गुणैः ।।

श्रीमद्भागवद्गीताको यस श्लोकले भनेको छ – निःसन्देह कुनै पनि मानिस कुनै पनि समय एक छिन पनि कर्म नगरी रहन सक्दैन किनकि सम्पूर्ण मनुष्य समुदाय प्रकृतिजनित गुणद्वारा परेको कर्म गर्नको लागि बाध्य पारिन्छ ।
जीवनलाई मुख्य गरी चार भागमा विभाजन गरिन्छ वयको आधारमा । बालापन, युवापन, जवानी र बुढोपन । माथिको श्लोकअनुसार उमेरको प्रकृतिअनुसार पनि मानिसले हरेक क्षण कर्म गरिरहेकै हुन्छ र गर्नुपर्छ । यो बाध्यता हो । बालक खेल्न मन पराउँछ, युवामा जोश हुन्छ, जवानी आर्जन खोज्छ र वृद्ध मूल्याङ्कन गर्दछ । जैविक रुपमा हुने परिवर्तन र शरीर तथा मनोविज्ञानमा उत्पन्न भइरहने भाव र त्यसको प्रभावलाई रोक्न पनि सक्दैन । रोक्न हुँदैन भनिन्छ पनि ।
तथर्तुं लिङ्गानान्यृतवः स्वयमेवर्तुपर्यये ।

स्वानि स्वान्यभिपद्यन्ते तथा कर्माणि देहिनः ।।

मनुस्मृतिःको उपर्युक्त श्लोकले भन्दछ : जसरी (वसन्त आदि) ऋतु बदलिएपछि ऋतुहरुले स्वयं आफ्नो ऋतुचिन्ह प्राप्त गर्दछन्, यसै गरी देहधारी स्वयंले पनि आफ्नो कर्मलाई प्राप्त गर्दछन् ।
यसमा पनि कर्मलाई भनिएको छ कि कर्म स्वतः प्राप्त हुने कुरा हो ।

कर्म त हरेकले गर्दछ । गरिरहेको हुन्छ । कर्मलाई पनि सार्थक र निरर्थक गरी दुई समूहमा विभाजन गरिएको पाइन्छ । हाम्रो शरीरले पनि कर्म गरिरहेको छ । हाम्रो शरीरमा कतिपय कर्म शरीरका शरीरका अंगहरुले गरिरहेका हुन्छन् र कतिपय कर्म हामीले गर्नुपर्ने हुन्छ । स्वचालित अंगहरुले आफ्नो कर्म निरन्तर गरिरहेका हुन्छन्, हामीले हाम्रा स्वचालित अंगले कर्म गरिरहेको पाएर नै हामी आफू जीवित छौँ भन्ने बुझिरहेका हुन्छौँ । हो, हामीले आफ्नो शरीरले काम गर्दा नै दुनियाँले कर्म गरेको देख्दछन् । दुनियाँमा जीवित रहन दुई तरिका अपनाएका मानिसहरुले । पहिलो तरिका यो हो कि शरीर जीवित छ र दोस्रो तरिका यो कि उसको कर्म जीवित छ । शरीर जीवित र कर्म जीवित एकै कुरा होइनन् तर समानता त यही हो कि शरीरले कर्म नगरे कर्म गरेको दुनियाँले देख्दैनन् र हामीले हाम्रो आन्तरिक अंगहरुले कर्म गरिरहेको देख्दैनौँ, थाहा पाएका हुन्छौँ र यसबाट पाठ सिक्दैनौँ ।

शास्त्रहरुले शरीरको परिवर्तनलाई ऋतुको परिवर्तनसँगै तुलना गरेका छन् । कसैले चाहेर पनि वा नचाहेर पनि ऋतु परिवर्तन भइरहन्छ, शरीरमा पनि यसै गरी आन्तरिक र बाह्य परिवर्तन भइरहन्छन् । यी परिवर्तनलाई पनि हामीले ऋतुको परिवर्तनलाई जस्तै रोक्न सक्दैनौँ । कसैले रोक्ने प्रयास गरेको पनि होला तर समयलाई रोक्न नसक्ने सबैले बुझेको सत्य हो । हो, हामीले बुझेको सत्य जीवनभरको मानिसको शरीररको चार पक्ष हुन्छन् : बाल, युवा, जवान र वृद्ध । ऋतुमा पनि यही आगमनको संकेत, ऋतुको आरम्भको अवस्था मध्यावस्था र जाँदाजाँदैको संकेत । प्रथम र अन्तिम चरण त ऋतुमा वास्तवमा संक्रमणको अवस्था हुन्छ । मानिसको जीवनलाई कतिपयले यसै गरी लिएको पाइन्छ । अझै पनि गाउँघरमा एउटा भनाइ प्रचलनमा रहेको छ – बालक र वृद्धको स्वभाव करिब करिब एक जस्तो हुन्छ । यो शरीरको सम्बन्धमा हुनुपर्छ । बालक र वृद्ध दुवैले आफ्नो शरीरलाई थेग्न सक्ने हुँदैनन् । बालक र वृद्ध दुवैलाई सहाराको आवश्यकता चाहिन्छ । युवा र जवानीको अवस्था भने मौसमको जस्तै सम्पूर्ण रुपले उसलाई परिचित गराउने किसिमका हुन्छन् । कुनै ऋतुको सम्पूर्ण अवधिलाई नै हेर्दा पनि बुझ्न सकिन्छ कि उक्त ऋतुको अवधिलाई ठिक चार भाग गर्दा पहिलो दुई भाग अर्थात् आधा अवधि त्यही ऋतुको पहिचानसित जोडिएका विशिष्टताहरु बढी देख्न सकिन्छ ।

माथि आएका दुई ग्रन्थहरु श्रीमद्भगवद्गीता तथा मनुस्मृतिः मात्र नभई वेद, वेदाङ्ग, स्मृति, पुराण, रामायण, महाभारतदेखि ज्ञानगुनका पुराना सम्पूर्ण ग्रन्थ तथा आयुर्वेद सबैको जन्मदाताको अवस्थालाई देखाउँदा उही वृद्धावस्थालाई धारण गरेकाहरुको चित्र नै आउँछन् । ऋषिहरु भनेका पनि दारी फुलेका र शान्त स्वभाव भइसकेकाहरु बढी छन् । र पालन गर्नेहरु भने नवयुवाहरु बढी देखिन्छन् । हो, यहाँनेर यो पनि स्पष्ट भइसकेको छ कि पुराना ग्रन्थहरुको सिर्जनाको उद्देश्य जीवनका चार उद्देश्यलाई फलिभूत गराउने मार्गदर्शन नै हो । यदि वैज्ञानिक दृष्टिकोणले विचार गर्ने हो भने अहिलेको युगसम्म हाम्रो समाजमा धार्मिक ग्रन्थका रुपमा सुपूजित सम्पूर्ण ग्रन्थलाई साहित्य मानिदिँदा फरक पर्दैन किनभने साहित्य सीमाहीन हुन्छ । साहित्य जुनसकै विषयमा पनि लेख्न सकिन्छ । कल्पनाको कुनै सीमा हुँदैन । बार बन्दजे हुँदैन । यही अवस्था साहित्यको हुन्छ र हाम्रा ग्रन्थहरुमा अनेक विषयका छन्, एकै विषयका अनेक ग्रन्थ छन् । ग्रन्थहरुको सिर्जन जीवनजगत्लाई सम्पूर्ण रुपमा बुझेर जीवनको सार निकाल्ने सामथ्र्य राखेकाहरुबाट भएको हो ।

जीवनको चार अवस्थामध्ये अन्तिम अवस्थामा पुगेका वा पुग्न लागेकाहरुबाट लेखिएका हुनाले जीवनको सबै भागको अनुभूति, अनुभव तथा सार समेटिने साहित्यलाई उम्दा मानिनु पनि न्यायोचित हो । सम्भवतः यसै उमेरलाई अझ बढी सिर्जनशील बनाउन, यस वयलाई अझ उपलब्धिपूर्ण बनाउन, वर्तमान नयाँ पुस्ता तथा आगम पुस्तालाई पनि विगत र वर्तमानका आधारमा भविष्यलाई अझ बढी सशक्त दर्शाउन, वर्तमानमा लोप हुँदै गएका धेरै विषयवस्तु, समाज, संस्कृति, दर्शनादिका विविध पक्षलाई अलोप बनाउन साहित्य सिर्जन आवश्यक छ । यही साहित्यलाई बुढ्यौली साहित्य भनिएको हुनुपर्छ विस्तृत अर्थमा ।

मुख्यतया बुढाबुढीका लागि लेखिने साहित्य बुढ्यौली साहित्य हो । जसरी यो बूढो शब्द र बूढो अर्थात् वृद्ध अर्थमा पार्थक्य छ । बुढ्यौली साहित्यको विस्तार हुँदै जाँदा यसको क्षेत्र पनि व्यापक हुँदै जाला । जसरी आज बालसाहित्य भनेको बालबालिकाको लागि लेखिने साहित्य र बालबालिकाले लेख्ने साहित्य दुवैलाई मानिन्छन्, त्यसरी नै बुढ्यौली साहित्यमा पनि बूढो मानिसले लेख्ने साहित्य र बुढाबुढीका लागि लेखिने साहित्य दुवै हुनुपर्छ भन्ने मेरो मान्यता हो ।

बुढ्यौली साहित्य अति प्राचीन वा सर्वप्राचीन साहित्य हो भन्ने आधारहरु धेरै छन् तर बुढ्यौली साहित्यलाई चिनाउने काम अहिले मकवानपुरले गरिरहेको छ । वर्तमानमा बुढ्यौली साहित्यको अनावरण मकवानुरे साहित्यले गरेको छ ।

मकवानपुर र मकवानपुरेको नेतृत्वमा बुढ्यौली साहित्यले विस्तार प्राप्त गर्ने अवसर प्राप्त गरिरहेको छ । यो सुखद र खुसीको पक्ष हो । बुढ्यौली साहित्यले अझ खोजी गरिरहेको छ आफूलाई र खोजीसँगै विस्तार पनि गरिरहेको छ आफूलाई । अब बुढ्यौली साहित्यको विस्तार सँगसँगै मकवानपुरे साहित्यको विस्तारको भाव पनि विस्तार भइरहेको छ । वर्तमानको उन्नायक मकवानपुरे साहित्यलाई विश्व साहित्यमा चिनाउने एउटा नवीन माध्यम बनेको मकवानपुरे साहित्यलाई सलाम । बुढ्यौली साहित्यको विस्तारमा अहिले नेपाली साहित्यले दिइरहेको स्थानलाई अन्य भाषाको साहित्यमा पनि यसको स्वरुपको दर्शन होओस् ।

(मकवानपुरको महक : शृङ्खला १२)