बागमती प्रदेशसभाको उपसभामुख पदको निर्वाचन माघ २ गते, तीन जनाको मनोनयन दर्ता

तु खबर संवाददाता
२०७९ पुष २९, शुक्रबार १८:०१

मकवानपुर । बागमती प्रदेशसभाको उपसभामुख पदको निर्वाचन आगामी माघ २ गते हुने भएको छ । शुक्रबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा नवनिर्वाचित सभामुख भुवन कुमार पाठकले उपसभामुख पदको निर्वाचन कार्यतालिका सार्वजनिक गर्न प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्कालाई निर्देशन दिएका थिए ।

सोही निर्देशन बमोजिम प्रमुख सचिव खड्काले समयतालिका सार्वजनिक गरेका हुन् । निर्वाचनको लागि विभिन्न दलका तीन जनाले आज अपराह्नमा आ–आफ्नो मनोनयन दर्ता गराएका छन् ।

मनोनयन दर्ता गराउनेमा तीनै जना महिला रहेका छन् । सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेकी अप्सरा चापागाईँले उपसभामुख पदको उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा कुमारी मोक्तान र समर्थकमा आशा लामा रहेका छन् ।

यसैगरी, नेपाली कांग्रेसको तर्फबाट सुना परियारले उपसभामुख पदको उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा उत्तम जोशी र समर्थक याङकिला शेर्पा रहेका छन् ।

यस्तै, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तर्फबाट गीता काफ्लेले उपसभामुख पदको उम्मेदवार दर्ता गराएकी छन् । उनको प्रस्तावकमा सुरेन्द्रराज गोरसाईँ र समर्थकमा सृजना सैजू रहेका छन् ।

११० जना सदस्य रहेको बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समावजादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।