२० लाख धरौटीमा रिहा भए सन्दीप लामिछाने

तु खबर संवाददाता
२०७९ पुष २९, शुक्रबार १६:०१
file-photo

काठमाडौं । नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने आज थुनामुक्त भएका छन् । उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएकाले उनी आज थुनामुक्त भएका हुन् ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

उक्त आदेश जिल्ला अदालत काठमाडौं हुँदै केन्द्रीय कारागारसम्म आइपुग्नु पर्ने भएकाले उनी बिहीबार छुट्न सकेनन् । कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले लामिछानेलाई शुक्रबार ९आज० मात्र थुनामुक्त गरिने जानकारी दिए ।

नाबालिकालाई बलात्कारको आरोप खेपेका सन्दीपलाई जिल्ला अदालत काठमाडौंले गत कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । सो आदेश अनुसार उनी केन्द्रीय कारागारमा छन् ।

जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए ।

गत भदौ २१ गते एक नाबालिकाले सन्दीपविरुद्ध गौशाला प्रहरीमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीको आधारमा प्रहरीले उनलाई गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।