बागमती प्रदेश प्रमुख शर्माद्वारा प्रदेशसभा बैठक आह्वान

तु खबर संवाददाता
२०७९ पुष १४, बिहीबार १५:५५

मकवानपुर । बागमती प्रदेश यादव चन्द्र शर्माले यही पुस १८ गतेका लागि प्रदेशसभा बैठक आह्वान गरेका छन् ।

प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बागमती मन्त्रीपरिषद् कार्यालयले सिफारिस गरी पठाए अनुसार बिहीबार एक सूचना जारी गरी प्रदेशसभाको ११ औं अधिवेशन बैठक आह्वान गरेका हुन् ।

प्रदेशसभा सचिवालयका सचिव ओमबहादुर खड्काका अनुसार, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आजै मन्त्रीपरिषद्को परामर्शमा प्रदेशसभाको बैठक पुस १८ गते आह्वान गर्न सिफारिस गरेका थिए । सोही अनुरुप नै संवैधानिक प्रकृया पूरा गरी प्रदेशसभाको बैठक आहवान गरिएको हो ।

बागमती प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी पार्टी, नेमकिपा, हाम्रो नेपाली पार्टीका गरी ११० जना प्रदेशसभाका सदस्यहरु रहेका छन् ।