उपलब्धि जोगाउन एमालेलाई परास्त गर्नुपर्ने : खतिवडा

तु खबर संवाददाता
२०७९ कार्तिक १३,आईतवार ०८:१२

मकवानपुर । नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य एवम् मकवानपुर क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बिरोध खतिवडाले एमालेले नेतृत्व गरेको प्रतिगमनकारी गठबन्धनलाई परास्त गर्नुपर्ने बताएका छन् ।

शनिबार मकवानपुरगढी गाउँपालिका वडा नम्वर ८ बुढिचौरमा बाम लोकतान्त्रिक संयुक्त गठबन्धनको निर्वाचन परिचालन सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

अहिले देशमा विगतमा परिवर्तनका लागि सँगै आन्दोलनमा लागेका दलहरुको गठबन्धन र देश टुक्राउने, राजावादी, संविधान नमान्ने दलहरुका बिच चुनाव हुन लागेकाले जनता सचेत हुनुपर्ने बेला भएको उनले बताए ।

उनले बयलगडा चढेर अमेरिका पुगिदैन भन्ने केपी शर्मा ओली लोकतन्त्र विरोधी भन्ने पुष्टि भएको बताए । एमालेका नेता कार्यकर्ताहरु अहिले हिजोका मन्डलेसँग रानजीनिक पाठ सिक्ने काममा लागेकोप्रति व्यङ्ग्य गर्दै नेता खतिवडाले हिजोका दुस्मनलाई आज चुनावको टिकट दिएको उल्लेख गरे । देशलाई अग्रगमनमा लैजान बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन उनले सबैलाई आग्रह गरे ।

यस्तै, कार्यक्रममा प्रतिनिधीसभा २ को प्रदेशसभा (क) का उम्मेदवार कुमारी मोक्तानले अहिले पार्टी भन्दा पनि गठबन्धनका तर्फबाट आफूहरुको उम्मेदवारी भएकाले इमान्दारी पूर्वक गठबन्धनका उम्मेदवार जिताउन आग्रह गरिन् ।

यस्तै, नेपाली कांग्र्रेसका मकवानपुरगढी गाउँपालिकाका सभापति राजवीर मोक्तानले गठबन्धनका उम्मेदवारले जितेमा मात्र मुलुकमा विकास हुने तथा देशमा प्रात उपलब्धिको रक्षा हुने बताए । नेपाली कांगेस वडा नम्वर ८ का सभापति वेदनाथ न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो ।