थापालाई अन्तर्राष्ट्रिय युवा नेतृत्व अवार्ड

तु खबर संवाददाता
२०७९ आश्विन १८, मंगलवार १०:२४

दुबई । तीन वर्षदेखि सिजन मिडिया प्रालिले प्रदान गर्दै आएको एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२ बाट ३४ जना सम्मानित भएका छन् ।

देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा योगदान दिने विशेष व्यक्तिलाई प्रदान गरिने ‘‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’ सिजन मिडियाले दुबईको याक एन यति क्लबमा शुक्रबार एक कार्यक्रमकाबीच प्रदान गरेको हो ।

सिजन मिडियाले आफ्नो १४ औं स्थापना दिवस तथा संविधान दिवस २०७९ को अवसर पारेर प्रदान गरिएको अवार्ड युपिएफ एसिया प्यासिफिककाको (चियर डा. रोबेट एस किट्टेल र पूर्व मन्त्री एकनाथ ढकालको हातबाट प्रदान गरेको सिजन मिडिया प्रालिका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए ।

जसअन्तर्गत ‘अन्तराष्ट्रिय युवा नेतृत्व अवार्डु भने गोरखाका प्रकाशबाबु थापा (प्रकाशपुन्ज) ले प्राप्त गरे । लामो समयदेखि नेतृत्व विकास सम्बन्धी कामहरुमा सक्रिय रहेका थापाले मित्रराष्ट्र भारतबाट पहिलो पटक सन् २००१ मा अन्तराष्ट्रिय नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न गरेका थिए भने संयुक्त राज्य अमेरिका र क्यानडाबाट ३ बर्षको नेतृत्व विकास कोर्स सम्पन्न गर्न सफल रहेका थिए । साथै उनले जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, न्युजिल्याण्ड, थाईल्याण्ड , फिलिपिन्स लगायत ३० भन्दा बढी मुलुकहरुको भ्रमण गरी हजारौं युवाहरुलाई नेतृत्व र व्यक्तित्व विकास सम्बन्धी तालिम दिनको लागि योगदान पुर्याएका छन् ।

२०७२ सालको भुकम्प, कोरोना महामारी जस्ता संकटका बेला थुप्रै युवाहरुलाई परिचालन गरी विभिन्न संघसंस्थाहरुको माध्यमबाट सहयोग जुटाई स्वास्थ्य शिविर र विद्यालय पुनः निर्माणमा पनि उनले काम गरेका थिए ।

कार्यक्रममा भारतीय जनता पार्टीका बरिष्ठ नेता बिजय जोलीलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको थियो। कार्यक्रमका बिशेष अतिथिद्वय पूर्वमन्त्री एकनाथ ढकाल तथा शिक्षाविद् डा. रोबर्ट किटेलले सम्मान प्राप्त गर्ने सबैलाई बधाई दिए । कार्यक्रममा पत्रकार दिलीप खत्रीले सोसल जर्नालिष्ट अफ द इयर अवार्ड पाए भने पवन अधिकारीले मिडिया ईन्टरपृनियर अवार्ड, नारायण पौडेलले हस्पिटालिटि अवार्ड, जीवन घिमिरेले बेस्ट सिभिल इन्जिनियरिङ अवार्ड, प्रकाश लकान्द्रीले बेस्ट एजुकेसन अवार्ड, देबराज डंगोलले सोसल वर्कर, रमिला खत्रीले तेक्वान्दो कोच एन्ड ईन्टल रिफ्रेस अफ द इयर अवार्ड प्राप्त गरे । यस्तै, रोजिन शाक्यले आइकोनिकक फेसन कोरियोग्राफर, धर्मराज गोसाइ हस्पिटल एण्ड हेल्थ केयर मेनेजमेन्ट अवार्ड, विकाश खतिवडाले कमर्सियल फोटोग्राफर अवार्ड पाएका छ्न् । उक्त कार्यक्रममा अन्य २ दर्जन बढीलाई विभिन्न अवार्ड प्रदान गरिएको आयोजक सिजन मिडियाका अध्यक्ष वन्तले बताए ।

सामाजिक, राजनैतिक, साँस्कृतिक, शैक्षिक र व्यवसायिक क्षेत्रमा सफल तथा क्रियाशिल व्यक्तिको मेहनतलाई थप प्रेरणा प्रदान गर्ने उद्देश्यले अवार्ड प्रदान गरिएको वन्तले बताए ।

सन् २०१९ मा कोभिड–१९ को महामारीका कारण प्रोफेसनल एचिभमेन्ट अवार्डको दोस्रो संस्करण नेपालमै आयोजना गरिए पनि तेस्रो संस्करण दुबईमा नै गरिएको हो ।