सरकारी जागिर छाडेर आफ्नै व्यवसायमा

तु खबर संवाददाता
२०७९ श्रावण २९, आईतवार ११:२८

मकवानपुर । सरकारी जागिर छाडेर व्यवसायमा भन्दा नौलो लाग्न सक्छ । तर, हेटौंडाका विष्णुहरि न्यौपाने (जिके विष्णु) सरकारी जागिर छाडेर अहिले हार्डवेयरको व्यवसायमा जमेका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्वर– ११ गोल्फिन्टारमा जन्मिएका न्यौपानेले झण्डै ६ वर्षसम्म आवद्ध भएको सशस्त्र प्रहरी बल नेपालको जागिर छाडेर अहिले हार्डवेयर सञ्चालन गरी मनग्यै कमाउँदै आइरहेका छन् ।

सरकारी जागिरबाट राम्रो आम्दानी नभएपछि राजीनामा दिएर हार्डवेयर व्यवसाय गरिरहेको उनी बताउँछन् । कुनै समय एक्लो मात्रै जागिर खाएका उनले अहिले १० जनालाई रोजगारीसमेत दिएका छन् । जागिरबाट आत्मसन्तुष्टि नभएपछि २०७८ सालमा जागिर छोडेर हेटौंडाको सानोपोखरास्थित हार्डवेयरको व्यवसाय सम्हाल्दै आएको उनी बताउँछन् । उनलाई व्यवसायमा परिवारकोे ठूलो साथ छ ।

‘जागिरमा आत्मसन्तुष्टि नभएपछि हामी दाजुभाई मिलेर व्यवसाय गर्ने सोच बनायौँ । मेरो दाई श्रीहरि न्यौपानेसँग हार्डवेयरको क्षेत्रमा काम गरेको अनुभव थियो । उहाँले २०७७ बाटै हार्डवेयर संचालनको कार्य अघि बढाइसक्नुभएको थियो । २०७८ पछि जागिरबाट राजीनामा दिएर म पूर्ण रुपमा व्यवसायमै लागिरहेको छु ।’ उनले भने ।

सुरुमा २५ लाख रुपैयाँ लागतबाट सुरु गरेकोे हार्डवेयरको व्यवसायबाट अहिले मनग्य आम्दानी भइरहेको छ । हार्डवेयर संचालनको अवधि २ वर्ष पुग्दासम्म कूल लागत १ करोडको हाराहारिमा पुगिसकेको छ भने मासिक ३ लाखको हाराहारिमा मुनाफा भइरहेको उनले बताए ।

वीरगंज, चितवन, सर्लाही, बुटवल र हेटौंडा औद्योगिक क्षेत्रबाट सामान ल्याएर निश्चित मुनाफा राखी विक्रिवितरण गर्ने गरेको उनको भनाई छ । आफ्नो पसलबाट जिल्लाका विभिन्न स्थान र छिमेकी जिल्लामासमेत सामान माग हुने गरेको उनले बताए । जागिरबाट सीमत कमाइ हुन्थ्यो, व्यवसायमा खट्यो भने राम्रो कमाइ हुने रहेछ प्रफुल्ल हुँदै उनले थपे ।

मैले व्यवसायमा सम्भावना देखेर जागिर छोडेको थिएँ, म त्यसमै सफल भएँ, न्यौपानेले भने । यसलाई अझै विस्तार गदै फर्निचर उत्पादनको कामलाई पनि जोड दिने उनले बताए । ‘अहिले फर्निचर निर्माणका सामान, प्लाई, सीसी, रेडिमेट ढोका, प्लम्बिङका सामानहरु, रङ रोगन, सिमेन्ट, किलाकब्जा र जाली प्लेनसिट लगायतका सामान बेचिरहेको छु । विस्तारै हार्डवेयरको सबै सामान पाइने बनाउन मन छ ।’ उनले भने । अहिले सरकारले उद्यमी बन्न चाहनेहरूका लागि विभिन्न किसिमका कार्यक्रमहरू ल्याए पनि अधिकांशले अझै सरकारको सहयोग पाउन नसकेको उनको भनाइ छ ।

यस व्यवसायको भविष्य  उज्वल देख्छन् उनी । झन् त्यसमा पनि पछिल्लो समयमा आइरहेका नेपाली युवा व्यवसायीहरू देखेर त उनी झन् आशावादी छन् । व्यवसाय जुनसुकै होस् मन लगाएर गर्ने र ग्राहकको चाहना र आवश्यकतामा ध्यान दिने हो भने अवश्य सफल बन्न सकिन्छ, उनी दाबी गर्छन् ।

दक्ष युवा जनशक्ति विदेश पलायन भइरहेको भन्दै उनी आफ्नै देशमा केही गर्न सुझाव दिन्छन् । स्थानीय प्रशासन, सरोकारवाला निकाय र सरकारले त्यसका लागि समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ । उद्योगी व्यवसायीसँग सम्बन्धित संस्थाले विभिन्न सिपमुलक तालिमहरु दिने, सरकारले अवसरहरु सृजना गर्ने, प्रशासनले समन्वयकारी भूमिका निर्वाह गर्ने हो भने व्यवसायीहरु उत्साहित भएर व्यवसाय कर्ममा लाग्ने र त्यसबाट राज्यलाई कर संकलनमा टेवा पुग्ने उनी बताउँछन् ।

मुलुकमा शान्ति सुरक्षा र सीमा सुरक्षा आवश्यक ठानी सशस्त्र प्रहरी बलमा जागिरे भएका उनी मुलुक सम्पन्न हुन अर्थतन्त्र पनि बलियो हुनुपर्ने र त्यसको लागि राज्यले व्यवसायिक नीति अवलम्वन गर्नुपर्ने बताउँछन् ।