बालिकाको शवसहित तीन जना प्रहरीको नियन्त्रणमा

तु खबर संवाददाता
२०७९ असार १७, शुक्रबार ०९:०९

पर्सा । पर्सामा बालिकाको शवसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले जिल्लाको बहुदरमाई नगरपालिका–७ ढोङ्गी खोलाको मसान घाटमा एक बालिकाको शव जलाउँदै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीको नियन्त्रणमा हुनेहरुमा क्रमशः स्थानीय १८ वर्षीया किशोरी, ४० वर्षिया आशा देवी र ५० वर्षीया उर्मिला देवी रहेका छन् । बुधबार बहुदरमाई–७ की १४ वर्षीया बालिकाको विष सेवनका कारण मृत्यु भएको थियो । उक्त घटनाबारे प्रहरीलाई जानकारी नदिई गोप्य रुपमा अन्त्येष्टि गर्न लागेको अवस्थामा प्रहरीले तीनै जनालाई मसान घाटबाट शवसहित नियन्त्रणमा लिएको हो ।

मोटरसाइकलमा लगेर शव जलाउन लागेका तीनै जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।