सहकारीका संचालक तथा कर्मचारीलाई लेखा व्यवस्थापन तालिम
मकवानपुर । मकवानपुर जिल्ला सहकारी संघ लिमिटेडको आयोजना र बागमती प्रदेश सहकारी बोर्डको सहयोगमा बकैयामा ४ दिने सहकारी लेखा व्यवस्थापन तालिम सुरु भएको छ । आज पालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले तालिमको औपचारिक उद्घाटन गरे । उनले प्रशिक्षकलाई तालिमका लागि आवश्यक सामग्रीसमेत हस्तान्तरण गरे ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष खत्रीले सहकारीमा आवद्ध भएपछि सहकारीको मर्म अनुसार उद्यमशील कार्यमा लाग्न सहभागीहरुलाई अनुरोध गरे । उनले उद्यमशीलताको विकास गरी समतामुलक समाज निर्माणका लागि सहकारी अपरिहार्य भएको बताए ।
कार्यक्रमका विशिष्ट अतिथि जिल्ला सहकारी संघका सचिव दिनेश उपाध्यायले सहकारीको अर्थ सहकार्य भएको र सहकारीले सामाजिक जीवनस्तर उकास्न मद्दत गर्ने बताए । उनलेस हकारीका संचालक र कर्मचारीको क्षमता विकासको लागि तालिम आयोजना गरेको बताए । उपाध्यायले सहकारी अभियानलाई सार्थक बनाउन स्थानीय तहले सहयोग गर्नसमेत अनुरोध गरे ।
सहकारी संजाल बकैयाका अध्यक्ष सिताराम दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर संघका व्यवस्थापक गोविन्द दाहालले संचालन गरेका थिए । कार्यक्रममा बकैया गाउँपालिका ३ नम्वर वडा अध्यक्ष भुमल सिं घलान, ५ नम्वर वडा अध्यक्ष लक्ष्मी जिम्बा संघका कर्मचारी राजकुमार केसी लगायतको उपस्थिति रहेको थियो । तालिममा बकैया, बागमती र मकवानपुरगढी गाउँपालिकामा भएका सहकारी संस्थाका संचालक तथा कर्मचारीहरुको सहभागिता रहेको छ ।
