बागमती प्रदेशसभाः अर्थमन्त्री जम्मकट्टेलद्वारा आगामी आवको आर्थिक सर्वेक्षण प्रस्तुत
मकवानपुर । बागमती प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षण पेश गरेका छन् ।
आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने क्रममा उनले आर्थिक वर्ष २०७८/७९ मा नेपालको कुल गार्हस्थ्य उत्पादन (उत्पादकको मूल्यमा) रु ४८ खर्ब ५१ अर्ब ६२ करोड रहने अनुमान गरिएकोमा बागमती प्रदेशको अंश सबै प्रदेशको भन्दा बढी ३६.९ प्रतिशत अर्थात रु १७ खर्ब ९० अर्ब ६८ करोड रहने अनुमान रहेको बताए ।
त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन रु १७ खर्ब ९० खर्ब ६८ करोड हुने अनुमान मध्ये थोक तथा खुद्रा व्यापार, गाडि तथा मोटरसाइकल मर्मत सेवाको अंश सबैभन्दा बढी २५.१० प्रतिशत रहेको जानकारी दिए । त्यसैगरी वित्तीय तथा बीमा उत्पादन उद्योगको अंश क्रमश ११.१० र ५.५० प्रतिशत रहेको बताए ।
आर्थिक वर्ष २०७८/०७९ मा नेपालको कुल गार्हस्थ्य उत्पादनको बृद्धिदर ५.८४ प्रतिशत रहने अनुमान गरिएकोमा प्रदेशको बृद्धिदर सबैभन्दा बढी ६.६० प्रतिशत कायम हुने मन्त्री जम्मकट्टेलले बताए । चालु आवको फागुन मसान्तसम्म नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ३७२ अमेरिकी डलर रहेकोमा बागमती प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन २ हजार ४३० अमेरिकी डलर रहेको उनले बताए ।
बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको ०७७/०७८ को वार्षिक प्रतिवेदन, प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास समितिका सभापति नारायणबहादुर सिलवाल, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति केशवप्रसाद पोखरेल र उद्योग पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेले आफ्नो समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
