प्रशारण लाइनमा चढेका विकको हेलिकप्टरबाट उद्धार गर्न मन्त्रीको आग्रह

तु खबर संवाददाता
२०७९ जेष्ठ २८, शनिबार १८:४४

मकवानपुर । नुवाकोट जिल्लाको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रशारण लाइनमा विहानैदेखि झुण्डिएका व्यक्तिको उद्धार गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले नेपाली सेनालाई आग्रह गरेकी छिन् ।

उनले शनिबार दिउँसो हेलिकप्टरबाट भए पनि ती व्यक्तिको उद्धार गर्न नेपाली सेनालाई भनेको उल्लेख गरेकी छिन् । उनले ट्विटरमा लेखेकी छन्, ‘विद्युत लाइनको जोखिमलाई ध्यान दिएर हेलिकप्टरबाट भए पनि उद्धार गरौं ।’

नुवाकोटकै बेलकोटगढी नगरपालिका–१२ का माइला विक शनिबार दिउँसो ककनी गाउँपालिका– ७ मा त्रिशुली मातातीर्थ प्रशारण लाइनको तारमा चढेका थिए । त्यसपछि प्रहरी र स्थानीय वासिन्दाले प्रयास गर्दा पनि उनी तल ओर्लन मानेका छैनन् ।

उनी प्रशारण लाइनमा चढेपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर नेपाल विद्युत प्राधिकरणले सो प्रशारण लाइनमा विद्युत प्रवाह रोकेको छ ।