१० मिनेटलाई रोकिएको बागमती प्रदेशसभा बैठक २ घण्टापछि सुरु

तु खबर संवाददाता
२०७९ जेष्ठ १९, बिहीबार ११:१६

मकवानपुर । बागमती प्रदेशसभाको बैठक पुनः सुरु भएको छ । नेकपा एमालेको अवरोधपछि रोकिएको प्रदेशसभा बैठक पुनः सुरु भएको हो । एमालेले उठाएका विषयमा प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सदनमा जवाफ दिने र मुख्य सचिवको संयोजकत्वमा छानविन समिति गठन गर्न सहमति जुटेपछि बैठक सुचारु भएको हो ।

सरकारको नीति तथा कार्यक्रममाथि छलफलको लागि विहिबार विहान ८ बजे आह्वान गरिएको बैठक सुरु भएलगत्तै नेकपा एमालेले अवरोध गरेपछि १० मिनेटको लागि स्थगित गरिएको थियो । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर अवरोध गरेका थिए ।

त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले नेकपा एमालेका मुख्य सचेतक दीपक निरौलालाई आफ्ना भनाई राख्न समय उपलब्ध गराए । मुख्य सचेतक निरौलाले पशुपन्छी तथा मत्स्य विकास केन्द्रका ३ जना कर्मचारीलाई वर्तमान सरकारले आफु अनुकुल नभएकाले सरुवा गरेको भन्दै विराध जनाएका थिए ।

उनले त्यसको सत्यतथ्य छानविन गर्न सर्वपक्षीय छानविन समिति गठनको प्रक्रिया अघि नबढाउन्जेल संसदमा अवरोध कायम राख्ने बताएपछि सभामुख श्रेष्ठले बैठक १० मिनेटको लागि स्थगित गरेका थिए । १० मिनेटको लागि स्थगित भएको बैठक करिब २ घण्टापछि पुनः सुरु भएको हो ।