पार्टीभित्रको अन्तर्घातले स्थानीय निर्वाचनमा सोचेअनुसारको नतिजा आएन : केपी ओली

तु खबर संवाददाता
२०७९ जेष्ठ ११, बुधबार १८:२२
file-photo

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा आफ्नो पक्षमा सोचेअनुसारको नतिजा नआएको बताएका छन् । पार्टीको बुधबार बसेको पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले स्थानीय निर्वाचनबारे चर्चा गर्दै पार्टीभित्रको अन्तर्घातका कारण सोचेअनुसार नतिजा नआएको बताएको एक सांसदले बताए ।

‘निर्वाचनमा पार्टीभित्रै अन्तर्घात भएको छ । यसको गम्भीर समीक्षा गर्न जरुरी छ’, अध्यक्ष ओलीको भनाई उदृत गर्दै ती सांसदले भने, ‘उपमेयर जित्दा मेयर किन जितिँदैन ? यो भनेको अन्तर्घात होइन ?’

यस्तै, अध्यक्ष ओलीले सरकारले मंगलबार संसदमा पेश गरेको नीति तथा कार्यक्रम मुलुकको समस्या सम्बोधन गर्नेतर्फ केन्द्रीत नभई निरन्तरता मात्रै भएको भन्दै त्यसबारे चिरफार गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् ।