पेस्तोल र गोलीसहित दुई भारतीय युवा पक्राउ

तु खबर संवाददाता
२०७९ बैशाख २५, आईतवार ०८:४९

काठमाडौं । बाराको सिम्रौनगढबाट हतियारसहित प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले सिम्रौनगढ नगरपालिका–९ बाट शनिबार अटोमेटिक चाइनीज पेस्तोल, म्याग्जिन र गोलीसहित दुई भारतीय युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारतको बिहारस्थित मोतीहारीका २३ वर्षीय पप्पुकुमार यादव र बिहारकै भेलावाका २२ वर्षीय अकलेशकुमार सिंह रहेका छन् ।

सीमावर्ती भारतीय गाँउबाट मोटरसाइकलमा सवार भएर नेपाल प्रवेश गरेका दुबै जनालाई सशस्त्र प्रहरीले रोकेर चेकजाँच गर्दा चाइनिज पेस्तोल १ थान, त्यसमा लाग्‍ने २ राउण्ड गोली, १ थान म्याग्जिन २ थान, कटुवा पेस्तोल १ थान र त्यसको दुई राउण्ड गोली बरामद भएपछि निजहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, पेस्तोल र गोलीसहित पक्राउ परेका दुबैलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको छ ।