भ्रातृ संस्थाहरुको पूर्वनिर्धारित अधिवेशन स्थगित गर्न कांग्रेसको निर्देशन
काठमाडौं । नेपाली कांग्रेसले भ्रातृसंघ र शुभेच्छुक संस्थाहरुको पूर्वनिर्धारित अधिवेशन र महाधिवेशन स्थगित गर्न निर्देशन दिएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै सो कुराको निर्देशन दिएका हुन् ।
उनले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउन खटिनुपर्ने भएकाले पूर्वनिर्धारित अधिवेशनहरू स्थगित गर्न निर्देशन दिएका हुन् । साथै कांग्रेसले स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएलगत्तै बैठक बसेर अधिवेशन र महाधिवेशनको कार्यतालिका तय गर्न पनि निर्देशन दिएको छ ।
‘निर्वाचनको अन्तिम परिणाम प्राप्त भएलगत्तै आ–आफ्नो कार्यसमितिको बैठक बसी अधिवेशन/महाधिवेशनको कार्यतालिका यथाशिघ्र तय गर्ने गरी पूर्व निर्धारित अधिवेशन/महाधिवेशन हाललाई स्थगित गर्नु हुन सम्बन्धित भ्रातृ संघ र शुभेच्छुक संस्थाहरुलाई निर्देशानुसार जानकारी गराइएको छ’, पौडेलद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
