स्थानीय निर्वाचन : ८ हजारभन्दा बढीले लिए उम्मदेवारी फिर्ता
काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुमध्ये ८ हजारभन्दा बढीले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगले प्रशोधन गरेको प्रारम्भिक तथ्यांक अनुसार, यही बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारमध्ये ८ हजार ३३ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
उम्मेदवारी फिर्ता लिनेमा सबैभन्दा धेरै वडा अध्यक्षका उम्मेदवार रहेका छन् । वडाध्यक्ष उम्मेदवारमध्ये २ हजार ८ सय ३७ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
यसैगरी, गाउँपालिका अध्यक्ष उम्मेदवारमध्ये २ सय ८० जना, गाउँपालिका उपाध्यक्ष उम्मेदवारमध्ये २ सय २५ जना, नगरपालिका मेयर उम्मेदवारमध्ये २ सय ६८ जना, उपमेयर उम्मेदवारमध्ये २ सय ४ जना, दलित महिला सदस्य उम्मेदवारमध्ये ६ सय ७७ जना, महिला सदस्य उम्मेदवारमध्ये ९ सय ७२ जना, वडा सदस्य उम्मेदवारमध्ये २ हजार ५ सय ७० जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
