चार दिनभित्र उम्मेदवारको नाम सिफारिस गर्न कांग्रेसको निर्देशन

तु खबर संवाददाता
२०७८ चैत्र १८, शुक्रबार १५:४३

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि नेपाली कांग्रेसले उम्मेदवारी सिफारिस गर्न निर्देशन दिएको छ । कांग्रेसले चार दिनभित्र वडा, गाउँपालिका र नगरपालिकामा पार्टीका तर्फबाट उम्मेदवारहरूको नाम सिफारिस गर्न निर्देशन गरेको हो ।

कांग्रेसले ७७ वटै जिल्लामार्फत् ७५३ वटै स्थानीय तहमा परिपत्र गर्दै बैशाख २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गरी पठाउन निर्देशन दिएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार, पार्टीले ७५३ वटै स्थानीय तहबाट वडा सदस्य, वडाध्यक्ष, गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष र मेयर÷उपमेयरका उम्मेदवारको नाम सोमबार र मंगलबारभित्र सिफारिस गरिसक्न निर्देशन दिएको हो ।

कांग्रेसको विधानले वडाका विभिन्न पदका उम्मेदवारको नाम वडा कार्यसमिति र गाउँपालिका÷नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवार सम्बन्धित गाउँ/नगर कार्यसमितिबाट सर्वसम्मत भए एक जना, सर्वसम्मत नभए एक पदमा एक महिलासहित तीन जनाको नाम समावेश गरी सिफारिस गरेर पठाउनुपर्ने व्यवस्था गरेको छ ।