चुनावी तालमेलबारे कांग्रेसले आज निर्णय गर्ने
काठमाडौं । नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने वा नगर्ने भन्ने विषयमा आज निर्णय गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवासहित पार्टीका अधिकांश नेता चुनावी तालमेल गरेर जानुपर्ने पक्षमा उभिएका छन् । गत शुक्रबारदेखि सोमबारसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकमा बोलेका अधिकांश नेताहरूले सत्तारूढ पाँचदलीय गठबन्धनलाई नै चुनावसम्म कायमै राख्नुपर्ने बताएका थिए।
चुनावी तालमेलको ढाँचालगायत विषयमा आज अपरान्ह ३ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकले निर्णय गर्नेछ । कांग्रेसले अरू दलसँग चुनावी तालमेल गरेर जाने सैद्धान्तिक निर्णय गर्ने सम्भावना छ । सभापति देउवा चुनावी तालमेलको पक्षमा छन् । उनीनिकट नेताहरू पनि तालमेलकै पक्षमा उभिए । केन्द्रीय कार्यसमितिमा सभापति देउवा पक्षधरको बाहुल्यता छ ।
नेता शेखर कोइराला र महामन्त्री गगन थापालगायत भने गठबन्धन गरेर जान नहुनेमा छन् । तर वरिष्ठ नेता रामचन्द्र पौडेल भने अहिलेको सत्तागठबन्धनलाई कायमै रहने गरी चुनावी तालमेलका पक्षमा देखिएका छन् । उनले एमालेलाई बलियो हुने वातावरण तयार गर्न नहुनेमा सबै सचेत रहनुपर्ने बताएका थिए । पार्टीका प्रवक्ता प्रकाशशरण महतका अनुसार गठबन्धनबारे आज बस्ने बैठकले निर्णय गर्नेछ ।
