बागमतीका सांसदको गुनासो: चुनाव भड्किलो भयो

तु खबर संवाददाता
२०७८ चैत्र ८, मंगलवार १५:०३

मकवानपुर । बागमती प्रदेशसभाको आज बसेको बैठकको शुन्य समयमा ६ जना सांसद्हरुले जनचासो विषयमा आफ्ना धारणा राखेका छन् । बैठकमा सत्तापक्ष नेकपा माओवादी केन्द्रका जगत सिम्खडा, रामकाजी महर्जन, नेपाली काँग्रेसका नरोत्तम वैद्य, राजेन्द्र गुरुङ, प्रतिपक्ष दल विवेकशी साझा पार्टीका रमेश पौड्याल र शोभा शाक्यले शुन्य समयमा आफ्नो धारणा राखेका हुन् ।

त्यस्तै सोही बैठकमा नेकपा माओवादी केन्द्रका सांसद् सिम्खडाले धादिङ र नुवाकोट जोड्ने पुल अलपत्र पारिएको विषयमा सरकारको ध्यानाकर्षण गराए । उनले सडक पुलका योजनाहरुमा सरकारले बजेट मात्र खन्याएर नहुने त्यसलाई समयमा नै सम्पन्न गराउनतर्फ अघि बढ्नुपर्ने बताए ।

त्यस्तै काँग्रेसका वैद्यले २१ औं शताब्दिमा पनि कागजको मत पत्र प्रयोग गरिएको प्रति असन्तुष्टि व्यक्त गर्दै इलेक्ट्रिक मेसिनबाट भोट गर्ने व्यवस्था गर्न माग गरे । उनले कागजको मत पत्रमा सरकारले अर्बौ रुपैयाँ खर्च गरेकोले त्यसलाई रोकेर प्रविधिसंगै अघि बढ्न माग गरे । उनले इलेक्ट्रिक मेसिनको प्रयोग गरेर मतदान गर्ने व्यवस्था गरी सरकारले राज्यको भर कम गर्नुपर्ने बताए । इलेक्ट्रिक मेसिनको प्रयोगले मतदान विश्वसनीय हुनुको साथै मतगठनामा पनि छिटो र सरल हुने बताए ।

त्यस्तै प्रतिपक्ष दल विवेकशील साझा पार्टीका रमेश पौड्यालले पछिल्लो समय चुनाव महंगो बन्दै गएको बताउँदै समान्य मानिसले चुनाव लड्न नसक्ने अवस्था आएको भन्दै सरकारले यसको नियन्त्रण गर्नुपर्ने बताए । चुनाव लड्ने उम्मेदवारले चुनाव प्रचारका क्रममा हरेक क्षेत्रमा खसी राँगा काटेर भोज गर्नुपर्ने अवस्थाले विकृति निम्तिएको बताउँदै त्यसतर्फ पनि सचेत हुनुपर्ने औंल्याए ।

त्यस्तै विवेकशील साझाकी शोभा शाक्यले अहिले देशमा महंगिले आम जनताहरु आक्रान्त भएकाले महंगी नियन्त्रण गर्नेतर्फ पनि सरकारले पहल गर्नुपर्नेमा जोड दिए । उनले सरकारले भड्किलो चुनावी अभियानलाई रोक्नतर्फ पनि ध्यान दिनुपर्ने अवस्था आएको बताए ।