स्थानीय निर्वाचनमा एमाले एक्लैले ७० प्रतिशत मत ल्याउने ओलीको दाबी

तु खबर संवाददाता
२०७८ चैत्र १, मंगलवार १५:१२
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तहको निर्वाचनमा एमाले एक्लैले ६० देखि ७० प्रतिशत मत ल्याएर जित्ने दावी गरेका छन् । मंगलबार पार्टी निकट अनेमसंघको तेस्रो पूर्ण बेठकलाई सम्बाृधन गर्दै अध्यक्ष ओलीले सो कुराको दाबी गरेका हुन् ।

ओलीले भने, ‘स्थानीय निर्वाचनमा हामी ६० देखि ७० प्रतिशत एक्लै जित्न सक्छौ । यति जित्नका लागि अरुको साहारा लिनुपर्दैन ।’ पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले कम्युनिष्टका नाममा रहेका पार्टीहरूको नामप्रति पनि कटाक्ष गरे ।

अध्यक्ष ओलीले आफ्नै पार्टीका नेता घनश्याम भुसाललाई तथाकथित बुद्धिजीवीको संज्ञा दिए । उनले भुसालको नामै नलिई तथाकथित बुद्धिजीवीहरुले कम्युनिस्टहरु नमिले समाप्त हुने भनेकोमा आपत्ति जनाए । उनले ५ दललाई कम्युनिष्ट विरोधी शक्तिको संज्ञा दिँदै परमादेशी र जनादेशी शक्तिबीच लडाई भइरहेको पनि बताए ।