इन्सेकद्वारा मानव अधिकार उल्लङ्घनका घटना सार्वजनिक
मकवानपुर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालय कलङ्कीको अभिलेख अनुसार सन् २०२१ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीको घटनामा ६ हजार २ सय ८५ जना पीडित भएका छन् । सन् २०२० मा यस्ता घटनामा ५ हजार ५ सय ४३ जना पीडित भएको इन्सेकको अभिलेखमा समावेश छ ।
सन् २०२१ मा मानव अधिकार उल्लङ्घनका घटनामा ५२ महिला र ५ सय १० पुरुष गरी जम्मा ५ सय ६२ जना तथा ज्यादतीको घटनामा ५ हजार १ सय ६३ जना महिला र ५ सय ६० जना पुरुष गरी जम्मा ५ हजार ७ सय २३ जना पीडित भएको इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले जानकारी दिए ।
यो बर्ष यातनाको घटनामा ३ जना, गिरफ्तारीको घटनामा ३५ जना, जातीय विभेदको घटनामा २८ जना, अमानवीय व्यवहारको घटनामा २४ जना, भेला तथा संगठित हुने अधिकारमा ३ सय ६३ जना र धम्कीको घटनामा ३६ जना र कुटपिटको घटनामा २ सय ६६ जना पीडित भएको इन्सेकको तथ्याङ्कमा उल्लेख छ । सन् २०२१ मा महिलामाथि हुने हिंसाका घटनामा ३ हजार ४ सय १६ जना पीडित भएको र बाल अधिकार उल्लंघनका घटनामा १ हजार ५ सय २२ जना बालबालिका पीडित भएको इन्सेकले जनाएको छ ।
त्यसैगरी, इन्सेक बागमती प्रदेश कार्यालय हेटौंडाले सन् २०२१ मा मानव अधिकार रक्षकहरुको उल्लङ्घनका घटनाको तथ्याङ्क विवरण सार्वजनिक गरेको छ । इन्सेक प्रदेश बागमती प्रदेश कार्यालयका संयोजक कृष्ण गौतमका अनुसार, स्वास्थ्यकर्मी, मानव अधिकारकर्मी, पत्रकार, कानून व्यवसायी सामाजिक कार्यकर्ता, शिक्षकलगायतका व्यक्तिहरुलाई कुटपिटको घटना जम्मा ५ वटा भएको छ ।
त्यस्तै, अमानवीय व्यवहारको घटना २ वटा, जातीय विभेदको घटना १ वटा, अभिव्यक्ति, भेला तथा संङ्गठित हुने अधिकारका घटना ९६ वटा गरी कूल १०४ वटा घटना भएको इन्सेक बागमती प्रदेश कार्यालयले जनाएको छ । इन्सेकको तथ्याङ्क अनुसार महिलाको तुलनामा पुरुषहरु बढी पीडित भएका छन् ।
इन्सेक बागमती प्रदेश संयोजक गौतमले यस्ता घटनाहरु घट्नुको प्रमुख कारण शिक्षा र चेतनाको कमी, अन्धविश्वास, सामाजिक कुरिती, विकृति, विसंगति, आर्थिक लेनदेन, जातीय विभेद भएको बताए । उनले जातीय विभेदका घटना न्यूनिकरण गर्नको लागि गाउँस्तरसम्म सचेतनामूलक कार्यक्रम संचालन भइरहेको र समाजमा जरो गाडेर बसेको कु–प्रथा, अन्धविश्वास, महिला तथा बालबालिका हिंसा, बलात्कार, यौन दुब्र्यवहार, आदी न्यूनिकरणको लागि इन्सेकले संक्रिय रुपले आफ्नो अभियान संचालन गरिरहेको जानकारी दिए ।
