राष्ट्रियसभाका १९ सदस्यले गरे सपथ ग्रहण

तु खबर संवाददाता
२०७८ फाल्गुन २२, आईतवार ०८:५३

काठमाडौँ । राष्ट्रियसभामा निर्वाचित भएका १९ जना सदस्यहरुले पद र गोपनियताको सपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित कानून न्याय तथा मानव अधिकार समितिको कक्षमा आज आयोजित समारोहमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् ।
राष्ट्रियसभामा नेपाली कांग्रेसबाट ६, नेकपा माओवादी केन्द्रबाट ५, नेकपा एकीकृत समाजवादीबाट ५, नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट एक–एक जना सदस्य निर्वाचित भएका थिए । सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक जना सदस्य मनोनित हुन भने बाँकी रहेको छ ।

गत माघ १२ मा १९ सिटका लागि भएको राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसबाट गोपाल कुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र निर्वाचित भएका थिए । यसैगरी माओवादी केन्द्रबाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।

एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहरा र मदन कुमारी शाह निर्वाचित भएका थिए । नेकपा एमालेबाट सोनाम गेल्जेन शेर्पा, जनता समाजवादी पार्टीबाट मोहम्मद खालिद र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा पनि राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । अर्का एकजना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् ।