वीरगंज महिला गोल्कपमा हेटौंडा एकेडेमी पनि सहभागी हुने
मकवानपुर । मधेश प्रदेशको पर्सा जिल्लामा आगामी चैत्र २ गतेबाट सुरु हुने प्रथम वीरगंज महिला गोल्डकप फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी पनि सहभागी हुने भएको छ । वीरगंज युथ एकेडेमीले आयोजना गर्ने उक्त प्रतियोगितामा सहभागी हुने तयारी भइरहेको हेटौंडा फुटबल एकेडेमीका प्रशिक्षक भीम लामाले जानकारी दिए । हेटौंडा फुटबल एकेडेमीमा २० जना महिला खेलाडी नियमित प्रशिक्षणमा सहभागी छन् ।
एकेडेमीले हेटौंडा–४, हुप्रचौरमा दैनिक २ देखि ३ घण्टासम्म महिला खेलाडीलाई प्रशिक्षण प्रदान गर्दै आएको प्रशिक्षक लामाले बताए । उक्त प्रतियोगितामा आयोजक वीरगंज युथ एकेडेमीसहित मकवानपुरको हेटौंडा फुटबल एकेडेमी र बागमती गाउँपालिकाको बागमती गाउँपालिका फुटबल खेलकुद विकास समिति, सर्लाहीको बागमती युवा क्लब, बारा जिल्लाको निजगढ फुटबल क्लब, अमलेखगन्जको सिद्धबाबा युवा क्लब, भारतको नरकटियागन्ज र छपरा टिम सहभागी हुनेछ । प्रतियोगिताको प्रथम हुनेले ३ लाख रुपैयाँ पुरस्कार राशी प्रदान गर्नेछन् ।
