मधेस प्रदेश सभामुख चयनका लागि आज निर्वाचन
काठमाडौँ । मधेस प्रदेश सभामा रिक्त रहेको सभामुख पदका लागि आज निर्वाचन हुने भएको छ। सभामुख चयनका लागि दुई जना प्रदेशसभा सदस्यले उम्मेदवारी दर्ता गराएका छन्।
प्रदेश सभा सचिवालयका अनुसार सत्तारूढ सात दलीय गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादव र नेकपा (एमाले) का प्रदेश सांसद त्रिलोकी प्रसादले सभामुख पदमा उम्मेदवारी दर्ता गराएका हुन्। शनिबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकिएको थियो।
रामअशिष यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक तथा नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य फकिरा महतो समर्थक रहेका छन्। सभामुख उम्मेदवारी दर्ताअघि बसेको सात दलीय गठबन्धनको बैठकले यादवलाई सर्वसम्मत रूपमा साझा उम्मेदवार बनाउने निर्णय गरेको थियो।
त्यस्तै, त्रिलोकी प्रसादको उम्मेदवारीमा नेकपा एमालेकी प्रदेशसभा सदस्य शारदा देवी थापा प्रस्तावक तथा जयचन्द्र प्रसाद पटेल समर्थक रहेका छन्। उम्मेदवारी दर्ताअघि बसेको एमाले संसदीय दलको बैठकले त्रिलोकी प्रसादलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको थियो।
मधेस प्रदेश सभाको सभामुख पदका लागि आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
