धर्मसापेक्ष राष्ट्रको माग गर्दै सर्वोच्चमा रिट

तु खबर संवाददाता
२०७८ फाल्गुन १०, मंगलवार ०८:४७

काठमाडौं । नेपाललाई धर्मसापेक्ष राष्ट्र कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता तुलसीराम पोखरेलले सोमबार पत्रकार सम्मेलन गरी सनातन व्यवस्थाका बारेमा संविधान आफैमा बाझिएको र अस्पष्टता भएकाले स्पष्ट व्याख्या गरी पाऊँ भन्दै सर्वोच्चमा रिट दर्ता गराएको जानकारी दिए ।

उनले नेपालको संविधानमा निरपेक्षता र सापेक्षतामा स्पष्ट नभएको र धर्मसापेक्षता लेख्नुपर्ने ठाउँमा धर्मनिरपेक्षता लेखिएको जानकारी दिए । उनले वैदिक सनातन संस्कृति र निरपेक्षताको बीचमा बाझिएको छ भनेर आफूले सर्वोच्चमा रिट निवेदन दायर गरेको बताए । संविधानको धारा, ४ को उपधारा, १ अन्तर्गतको स्पष्टीकरणको खण्डमा धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चलिआएको धर्म, संस्कृति संरक्षण गर्ने उल्लेख गरिएको उनको भनाइ छ ।