भीमफेदी कारागारका ३० जना कैदीबन्दीको कैद सजाय मिनाह गर्न सिफारिस
मकवानपुर । सरकारले कैद माफीका लागि मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारका ३० जनाको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रजातन्त्र दिवसको अवसरमा देशभरका ५०१ जना कैदीबन्दीको कैद सजाय मिनाह गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको थियो ।
सोही अनुसार, भीमफेदी कारागाकारमा कैद सजाय भोगिरहेका ३० जनाको नाम पनि सिफारिस गरिएको हो । सो निर्णय राष्ट्रपति भण्डारीले आज घोषणा गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । सरकारले हरेक वर्ष असल आचरण प्रस्तुत गर्ने सकारात्मक सूचीमा रहेका कैदीलाई गणतन्त्र दिवस तथा प्रजातन्त्र दिवसको अवसरमा कैदमाफी दिने गरेको छ । गत माघ १७ गते नै कारागार कार्यालयले असल आचारण प्रस्तुत गर्ने ३० जना कैदीको नाम सिफारिस गरिएको भीमफेदी कारागारका निमित्त प्रमुख केदारप्रसाद सापकोटाले जानकारी दिए । भीमफेदी कारागारमा ९ सय ७० कैदीबन्दी छन् ।
