स्थानीय निर्वाचनको लागि आयोगले आजबाट दल दर्ता गर्ने

तु खबर संवाददाता
२०७८ फाल्गुन ५, बिहीबार ०८:४४

काठमाडौँ । आगामी वैशाख ३० गतेको लागि तय भएको स्थानीय तह निर्वाचनका लागि आजबाट दल दर्ता खुला गरिएको छ । निर्वाचन आयोगले सूचना जारी गर्दै निर्वाचनमा भाग लिने दलजहरुले दल दर्ता गर्नुपर्ने जनाएको छ । आयोगका अनुसार आजदेखि फागुन १५ गतेसम्म कार्यालय समयमा दल दर्ताको निवेदन दिन सकिनेछ ।

यो १० दिनको अवधिमा सार्वजनिक विदाको दिन पनि कार्यालय खुल्ने आयोगले जनाएको छ । दल दर्ताका लागि निवेदन दिंदा दलको विधान, घोषणापत्र, नियमावली, झण्डा र चिह्नको नमूना, कम्तीमा २१ सदस्य केन्द्रीय समितिको व्यवस्था तथा अघिल्लो वर्षको लेखापरीक्षण प्रतिवेदनलगायत कागजात तथा विवरण पेस गर्नुपर्ने जनाइएको छ ।

विधान र नियमावली लोकतान्त्रिक, पाँच वर्षमा एक पटक सङ्घीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन भएको तथा विभिन्न तहका कार्यकारिणी समितिमा नेपालको विविधतालाई प्रतिनिधित्वको व्यवस्था भएको हुनुपर्नेजस्ता सर्तसहितका काजजातसमेत दर्ताका अवसरमा पेस गर्नुपर्ने छ ।

राजनीतिक दलको विधानमा दलको नाम, झण्डा, छाप, चिह्न, कार्यालयको ठेगाना, सङ्गठनात्मक संरचना, सदस्यता प्राप्त र गुम्ने अवस्था, केन्द्रीय, प्रदेश र स्थानीय तहको विवरण, महाधिवेशनसम्बन्धी व्यवस्था, बैठक बोलाउने र निर्णय गर्ने कार्यविधिलगायतको व्यवस्था उल्लेख हुनुपर्ने व्यवस्था छ ।