विभिन्न तहको शिक्षक पदमा झण्डै २ लाख ४० हजार जनाको आवेदन

तु खबर संवाददाता
२०७८ माघ २५, मंगलवार १७:२२

काठमाडौं । शिक्षक सेवा आयोगले खुलाएको विभिन्न तहको शिक्षक पदमा झण्डै साढे २ लाख जनाको आवेदन परेको छ । आयोगले खुलाएको माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहमा गरी दुई लाख ४० हजार ४५२ जनाको आवेदन परेको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए ।

उनका अनुसार, आयोगले तीन वटै तहमा गरी १७ हजार २३३ शिक्षक पदका लागि आवेदन आह्वान गरेकोमा दुई लाख ४० हजार ४५२ जनाको आवेदन परेको हो । आयोगले एक हजार ५४२ रिक्त शिक्षक पदपूर्तिका लागि खुला गरेको विज्ञापनमा ३६ हजार ५८२ जनाले आवेदन दिएको तर ३५ हजार ५४५ जनाले मात्रैले फारम दस्तुर बुझाएका छन् ।

यस्तै, निम्न माध्यामिक तहको २ हजार ५९८ शिक्षक पदको लागि ८८ हजार ५१९ जनाले आवेदन दिएकोमध्ये ८५ हजार ६५३ जनाले फारमको रकम बुझाएका छन् । यसैगरी, प्राथमिक तहको १३ हजार ९३ पदको लागि भएको विज्ञापनमा एक लाख १५ हजार ३५१ जनाले आवेदन दिएका छन् भने एक लाख १३ हजार ३८७ जनाले फारम भरेको रकम बुझाएको आयोगले जनाएको छ ।