आगामी शनिबारसम्मै बदली, वर्षा र हिमपातको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्मै बदली, वर्षा र हिमपात हुने जनाएको छ ।महाशाखाका अनुसार, यो अवधिमा बदलीसँगै असिनासहितको वर्षा र हिमपातको सम्भावना भएकाले हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने सम्भावना छ ।
महाशाखाले विशेष बुलेटिन जारी गर्द सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । आइतबारदेखि भने यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक सुधार हुने मौसमविद वरुण पौडेलले जानकारी दिए । उनका अनुसार, बुधबार रातिदेखि सुदूरपश्चिम प्रदेशबाट यो प्रणाली भित्रिने छ । यसको बढी असर काठमाडौं उपत्यकामा बिहीबार रातिदेखि देखिने छ । शुक्रबार दिनभर घाम लाग्ने छैन । यस्तै, शनिबार दिउँसोदेखि भने सुदूरपश्चिम क्षेत्रको आकाश विस्तारै खुल्ने छ । तर, मध्य र पूर्व क्षेत्रमा भने यसको असर बाँकी नै रहने उनले बताए ।
