कांग्रेस उपसभापति र महामन्त्रीहरुले दिए देउवालाई स्थानीय तहको निर्वाचन वैशाखमै गराउनुपर्ने सुझाव
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवालाई पार्टीका उपसभापति र महामन्त्रीहरुले स्थानीय तहको निर्वाचत तोकिएकै समयमा गर्न सुझाव दिएका छन् । शुक्रबार सानेपामा बसेको केन्द्रीय कार्य समितिको बैठकपछि देउवासँग दुईजना उपसभापति र दुईजना महामन्त्रीले भोलि हुने गठबन्धनसँगको बैठकमा स्थानीय तहको चुनावमा आगामी वैशाखमै हुनुपर्ने धारणा राख्न सुझाव दिएका हुन् ।
उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले देउवासँग छलफल गरेका छन् । छलफलमा सहभागी महामन्त्री थापाले आफूहरूले दिएको सुझावमा सभापति देउवा सकारात्मक रहेको बताए । महामन्त्री थापाका अनुसार सभापति देउवासँगको छलफलमा आगामी मंगलबार वा बुधबार कार्य सम्पादन समितिको बैठक बोलाउने सहमति भएको छ । सो बैठकमा म्याद सकिएको र नेतृत्वविहीन बनेका पार्टीका भ्रातृ संस्थाको नयाँ नेतृत्व चयनबारे छलफल हुनेसमेत जनाइएको छ । सोही बैठकमा सरकार सञ्चालनका विषयमा पनि छलफल हुनेछ । बैठकमा स्थानीय तहको चुनावका बारेमा पनि औपचारिक रूपमा छलफल हुने छ ।
