नेपाललाई फ्रान्स र इटालीद्वारा १३ लाख कोभ्याक्स खोप सहयोग
काठमाडौं । फ्रान्स र इटालीले कोभिड–१९ विरुद्ध कोभ्याक्समार्फत् प्रदान गरेका १३ लाख मात्रा खोप आज नेपाल आइपुगेको छ । फ्रान्स र जर्मनीका उच्च कूटनीतिक अधिकारीसहित नेपालका लागि युरोपेली संघका राजदूत नोना डेप्रेज नेतृत्वको टोलीले आजै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गरेका हुन् ।
आज फ्रान्सले छ लाख ८५ हजार ४०० र इटालीले छ लाख ६३ हजार ६०० मात्रा खोप हस्तान्तरण गरेका हुन् । यसअघि जर्मनीले पठाएको ४१ लाख मात्रा खोपमा थपिएर यो इयू सदस्य राष्ट्रहरूले उपलब्ध गराएको खोपको संख्या ५४ लाख पुगेको छ । सो क्रममा मन्त्री खतिवडाले आवश्यकताको समयमा खोप सहयोग गरेकामा नेपाल सरकार र नेपाली जनताका तर्फबाट कृतज्ञता ज्ञापन गर्दै यो सहयोग नेपाल र युरोपेली सख्याका सदस्य राष्ट्रहरूबीचको मैत्रीको उदाहरण हुने बताए ।
यस्तै, राजदूत डेप्रेजले ‘आज फ्रान्स र इटालीले दिएका यी खोप र यसअघि जर्मनीले प्रदान गरेका खोप नेपालसँगको इयूको मित्रताको प्रतीक हो, यसले कोभिडविरुद्ध विश्वव्यापी एकता र बहुपक्षीय समाधानका लागि इयूको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ’, भने ।
