हेटौंडामा राष्ट्रियसभा निर्वाचनः ३४१ जनाले गरे मतदान

तु खबर संवाददाता
२०७८ माघ १२, बुधबार १४:५०
कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ मतदानमा सहभागि हुँदै

मकवानपुर । हेटौंडाको औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहमा जारी राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा मतदान जारी छ । यो समाचार तयार पार्दासम्म १०६ जना प्रदेशसभा सदस्य र र २३५ जना स्थानीय तहका जनप्रतिनिधिले गरी कूल ३४१ मतदाताले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिएका छन् । पानी परेर तोकिएको समयभन्दा ढिलागरी सुरु भएको मतदान कडा सुरक्षाबीच जारी रहेको छ । मतदानको समय तिन बजेसम्मलाई तोकिएको छ । आजै साँझ ७ बजेसम्ममा मतपरिणाम सार्वजनिक गरिने जनाइएको छ ।

निर्वाचनमा बागमती प्रदेशसभाका १ सय ९ जना सदस्यहरु र प्रदेशका १३ जिल्लाका १ सय १९ वटा स्थानीय तहका २ सय ३७ प्रमुख/उपप्रमुख गरी कुल ३ सय ४६ जनाले मतदान गर्नेछन् । आज हुने बागमती प्रदेश राष्ट्रियसभा सदस्य महिला र अन्य गरी २ पदका लागि ६ जनाको उम्मेदवारी परेको छ ।सत्तारुढ गठबन्धनका दुई जना, नेकपा एमालेको तर्फबाट २ जना र नेपाल मजदुर किसान पार्टीबाट दुईजना गरी ६ जनाले मनोनयन दर्ता गरेका छन् ।

गठबन्धन दलका तर्फबाट महिलामा नेकपा एकीकृत समाजवादीबाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल रहेका छन् । विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्य र नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ उम्मेदवार रहेका छन् । मतदानको अवधि दिउँसो ३ बजेसम्म रहेको निर्वाचन अधिकृत श्रेष्ठले बताए । मतदान सम्पन्न भएपछि मतगणना प्रारम्भ हुने उनको भनाई छ ।