मकवानपुरमा कोरोना संक्रमणको दर उच्च, थप एकको मृत्यु

तु खबर संवाददाता
२०७८ माघ २, आईतवार १८:०६
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भई मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडामा अस्पतालमा उपचारतरत एक जनाको मृत्यु भएको हो ।

संक्रमणका कारण हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ बस्ने ६७ वर्षीय पुरुषको मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ । अस्पतालका अनुसार, उनको उपचारको क्रममा आज (आइतबार) बिहान २ बजे मृत्यु भएको हो । यससँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १६९ जना पुगेको छ ।  यो तथ्याङ्क कोरोना संक्रमणको तेस्रो लहरसम्मको हो । जसमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।

पछिल्लो समय मकवानपुरमा कोरोना संक्रमणको दर तीब्र भएको छ । विगतको तुलनामा पछिल्लो केही दिनमा मकवानपुरमा कोरोना संक्रमणको ६० गुणाले वृद्धि भएको हो । दैनिक रुपमा रुपमा कोरोना संक्रमणको दर बढ्दा जोखिम सोही अनुपातमा बढेको हेटौंडा अस्पतालका कोभिड इन्चार्ज प्रशान्त विडारीले बताए । अस्पतालको स्रोतसाधनको उच्चतम प्रयोग गरेर कोरोना नियन्त्रणमा लागि परेको उनको भनाई छ ।

कोरोना नियन्त्रणमा आम नागरिकले पनि आ–आफ्नो स्थानबाट स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्नुपर्ने उनको भनाई छ । दैनिक रुपमा कोरोना संक्रमणको दरबढ्दा हेटौंडा अस्पतालमा पनि जोखिम बढेकोले अत्यावश्यक पर्दा मात्र अस्पताल आउन उनले आग्रह गरे । उपचारको लागि अस्पताल आउँदा सिमित व्यक्तिमात्र आउन र स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन उनको आग्रह छ ।

कोरोनाविरुद्धको खोप लगाएकाहरुमा स्वास्थ्य जटिलता कम हुने भएकाले सम्पूर्णले खोप सेवा लिन पनि उनले आग्रह गरे । हेटौंडा अस्पतालमा कोरोनाका बिरामीहरु बढ्दै गएको र अस्पतालमा विरामी भर्ना हुने अनुपात पनि सोही अनुसार वृद्धि हुँदै जाँदा थप समस्या उत्पन्न हुनसक्ने उनको भनाई छ । यसको न्यूनिकरणका लागि नागरिक आफै सचेत हुनुपर्ने उनले बताए ।