मकवानपुरमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइयो

तु खबर संवाददाता
२०७८ पुष २७, मंगलवार १७:२४

मकवानपुर । मकवानपुरमा मंगलबार ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । उक्त अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य विन्दा गिरीले एक कार्यक्रमकाबीच राप्रपा मकवानपुरको कार्यालयमा रहेको पृथ्वीनारायण शाहको तस्वीरमा माल्यापर्ण गरेकी छिन् । त्यस्तै मकवानपुरका १० वटै स्थानीय तहमा आज विविध कार्यक्रमको आयोजना गरी पृथ्वी जयन्ती तथा एकता दिवस मनाइएको हो ।

पार्टी कार्यालय हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा केन्द्रीय सदस्य गिरीले पृथ्वी नारायण शाहको दूरदर्शीताको प्रशंसा गरिन् । उनले पृथ्वीनारायणकै योगदानका कारण आज विदेशी हस्तक्षेपको अन्त्य हुनुको साथै नेपाल एकीकरण भई स्वतन्त्र राष्ट्रको रुपमा रहेको बताइन् ।

पृथ्वीनारायणको पराराष्ट्र नीति, आन्तरिक प्रशासनको व्यवस्थापन, छिमेकी राज्यसंगको गहन मितत्रा र उनको बहादुरीलाई पछिल्लो पुस्ताले प्रेरणाको रुपमा लिनुपर्ने उनले बताइन् । पृथ्वीनारायणकै योगदानका कारण आज नेपाल विश्वभर वीरहरुको देश भनेर परिचित भएको र हामी सबैले नेपाली भनेर गर्व गर्न पाएको गिरिले प्रष्ट पारिन् । उनले एकता महाधिवेशनपछिको यो पहिलो राष्ट्रिय एकता दिवस भएको बताउँदै अब पार्टीलाई थप संगठीत र मर्यादित एवम् देश र जनताप्रति उत्तरदायी बनाएर अघि बढाउन सबैले आ–आफ्नो स्तरबाट सहयोग गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा राप्रपा पूर्व केन्द्रीय सदस्य बालकृष्ण कार्की, नवराज विष्ट, बागमती प्रदेश सदस्य गुन्जन बहादुर न्यौपाने, १ नम्वर क्षेत्रीय अध्यक्ष बद्री कुंवर, जिल्ला सदस्य बालकुमारी डल्लाकोटी, पार्टीका मकवानपुरगढी गाउँपालिका अध्यक्ष कृष्ण विडारीलगायतले पृथ्वीनारायणको योगदानबारे चर्चा गरेका थिए । राप्रपा मकवानपुरका वरिष्ठ उपाध्यक्ष खिलप्रसाद चौँलागाईको अध्यक्षतामा कार्यक्रम भएको हो ।