आज देशभर मौसम बदली रहने

तु खबर संवाददाता
२०७८ पुष २७,मंगलवार १०:२२
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले हाल प्रदेश १ र २ लगायत क्षेत्रमा बदली भइरहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली तथा प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ । बुधबार प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।