एकीकृत प्रगतिशील इन्जिनियर समूहको परिचयात्मक कार्यक्रम हेटौंडामा
मकवानपुर । नेपाल इन्जिनियर्स एशोसिएसनको आगामी माघ ७ गते हुने निर्वाचनलाई लक्षित गरी उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम आज हेटौंडामा भएको छ । एशोसिएसनको ३३ औँ केन्द्रीय कार्यकारिणी समिति र बागमती प्रदेशको दोस्रो कार्यकारिणी समितिको निर्वाचनका उम्मेदवारहरुले आफ्नो परिचयसंगै चुनावी घोषणापत्रसमेत सार्वजनिक गरेका छन् ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको सुभेच्छुक इन्जिनियर्सहरुले एकीकृत प्रगतिशील इन्जिनियर्स समूह नामक चुनावी प्यानल बनाई निर्वाचनमा जान लागेका हुन् । सो प्यानलबाट केन्द्रीय सभापति र बागमती सभापतिको उम्मेदवारमा क्रमश डा. हरिराम पराजुली र गिरीधर मिश्र रहेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले देश विकासमा इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने बताए । मुलुकका हरेक क्षेत्रमा निर्माण गरिने भौतिक संरचना, विकास निर्माणका आयोजना र त्यसको, गुरु योजना, विस्तृत परियोजनालगायतमा इन्जिनियरहरुको विशेष भूमिका हुने भन्दै इन्जिनियरबिना समृद्ध नेपालको कल्पना गर्न नसकिने बताए ।
त्यस्तै बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तान खानेपानीमन्त्री उर्जा तथा सिंचाईमन्त्री बसन्त मानन्धरले इन्जिनियरहरुले कुनै लोभ लालचमा नपरी आफ्नो पेशाप्रति प्रतिवद्ध भएर काम गर्नुपर्ने सुझाव दिए । उनीहरुले आसन्न निर्वाचनबाट सक्षम, सबल र इन्जिनियरहरुको हकहितका लागि काम गर्न सक्ने नेतृत्व चयन होस् भन्दै शुभकामना दिए ।
एशोसिएसनको केन्द्रीय उपाध्यक्षमा आ.न्हसला तुलाधर, महासचिवमा डा. शंकर ढकाल, उपमहासचिवमा डा. समित थापा, कोषाध्यक्षमा इ. श्याम नारायण चौधरी, सह कोषाध्यक्षमा इ. स्मिता भट्ट प्यानलबाट उम्मेदवार रहेका छन् । त्यस्तै बागमती प्रदेशतर्फ उपाध्यक्षमा इ. शिवप्रसाद भण्डारी, सचिवमा इ. अमरचन्द्र निराला, सह सचिवमा इ. कमल पोखरेल र कोषाध्यक्षमा इ. उमेशजंग थापा उम्मेदवार छन् । परिचयात्मक कार्यक्रममा केन्द्र र बागमती प्रदेशका विभिन्न पदका उम्मेदवारहरुको उपस्थिति रहेको थियो ।
एकीकृत प्रगतिशील इन्जिनियर समूह प्रचार प्रसार समितिको आयोजनामा भएको कार्यक्रममा बागमती प्रदेश मुख्यमन्त्री कार्यालयका प्रमुख स्वकीय सचिव उमेश रुपाखेतीले अध्यक्षता गरेका थिए भने आयोजकको तर्फबाट इन्जिनियर रविन पाठकलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


